सुर्खेतः कर्णालीको मुख्य नाका बबईमा अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन (एएनपीआर) प्रविधि जडान गरिएको छ । यसबाट अब सवारीसाधनहरुको डिजिटल निगरानी हुनेछ । सडक यात्रालाई सुरक्षित बनाउन र प्रदेशमा हुने आपराधिक क्रियाकलाप रोक्नको लागि स्वचालित प्रविधि जडान गरिएको हो ।
कर्णाली र लुम्बीनी प्रदेशको सीमाना बबईमा जडान गरिएको यो प्रविधि कर्णाली प्रदेशमा पहिलोपटक जडान गरिएको हो ।
स्वचालित नम्बर प्लेट जडानपछि सवारीचालकलाई प्रहरीको चेक पोष्टमा लामो समयसम्म गाडी रोक्नुपर्ने र इन्ट्री गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । यो प्रविधिले नाकाबाट भित्रिने र बाहिरिने गाडीको संख्या, नम्बर प्लेट, गाडीको रंग र गाडी गुडेको समय स्वचालित रुपमा रेकर्ड गर्दछ ।
यसले प्रहरीलाई अपराधको अनुसन्धान गर्न सजिलो हुनेछ । प्रहरीले गाडीमा चेकजाँच गरेर समय खेर नफाल्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । नाकामा हुने घटनाका सबै विवरण डिजिटल रुपमै रेकर्ड हुने उनले बताए । सुराकीको अभारमा र शंकास्पद गाडीलाई मात्र रोकेर चेकजाँच गरिने उनले बताए ।
प्रविधिको उद्धघाटन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई डिजिटल प्रदेशको रुपमा विकास गर्न लागिएको बताए । ‘यो सुरुवात हो । प्रदेशका सबै नाकामा डिजिटल प्रविधि जडान गर्नेछौं,’ उनले भने,‘ सडक यात्रालाई व्यवस्थित र सहज बनाउन हरेक जिल्लाका चेक पोष्ट डिजिटल प्रविधिमा आधारित हुनेछन् । यसले प्रदेशलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्नेछ ।’
अबदेखि यही प्रविधिमार्फत मुख्य नाकामा हुने गतिविधिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट निगरानी गरिने छ । प्रविधि जडान गर्न १० लाख रुपैयाँ खर्च भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।




खुल्ला प्रेस । ८ चैत्र २०८१, शनिबार १४:२२