दैलेखका १७ वडामा विद्युत पुग्न बाँकी

दैलेखः दैलेख जिल्लाका १७ वटा वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न बाकी रहेको छ । लिल्लाका ११ स्थानीय तहका ९० वडामध्ये ७३ वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएपछि १७ वटा वडामा मात्रै विद्युत पुग्न बाँकी रहेको हो ।
नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले दैलेखका ९० वडामै राष्ट्रिय प्रसारण लाइन विस्तारको काम भइरहेको र अहिलेसम्म ७३ वडामा विद्युत् प्रसारण लाइन जोडिएको जानकारी दिए । उनले अघिल्लो आर्थिक वर्षको ४२ करोड रुपियाँ लागतमा विद्युत् विस्तारको काम ९० प्रतिशत सकिएको र यो आर्थिक वर्षमा ११ करोड ६२ लाख रुपियाँको काम भइरहेको बताए ।
“११ स्थानीय तहमध्ये चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, आठबिस नगरपालिकाबाहेक आठ स्थानीय तहका वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ, महाबु गाउँपालिकाका तीन वडामा विद्युत् विस्तारका लागि लाइन तानेर चार्ज गरिएको र छिट्टै विद्युत् बल्नेछ ।”
उनले दिएको जानकारी अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, आठबिस नगरपालिकामा विद्युत् विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय र ऊर्जा विकास कार्यालयबाट प्राप्त ३२ करोड रुपियाँमा काम भइरहेको छ । वितरण केन्द्रका प्रमुख पाण्डेले गुराँस, भगवतीमाई, डुङ्गेश्वर, नौमूले र भैरवी गाउँपालिका तथा नारायण र दुल्लु नगरपालिकामा विद्युत् विस्तार भएको र महाबुको तीन वडामा विद्युत् पुगेसँगै आठवटा स्थानीय तहमा विद्युत् विस्तार हुने जानकारी दिए ।
राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जाँदासमेत जिल्लामा रहेका जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली प्रसारण लाइनमा जोड्ने गरिएको छ । यस जिल्लाको नौमूले गाउँपालिका–३, द्वारीमा निर्माण भएको द्वारीखोला हाइड्रोपावर (३.७५ मेगावाट) र सोही गाउँपालिका–४ मा निर्माण भएको पदमखोला हाइड्रोपावर(४.५ मेगावाट) उत्पादन भएको विद्युतलाई ग्रिड लाइनमा बत्ती नआएको बेला आइसोलेसन हालेर विद्युत् खपत गरिएको वितरण केन्द्र दैलेखले जानकारी दिएको छ ।
जिल्लाका ९० मध्ये ७३ वडामा विद्युत विस्तार भएपनि मिटरको समस्याले कतिपय नागरिकले विद्युत बाल्न भने पाएका छैनन् । सामुदायिक विद्युतिकरण हुँदा पालिकाले मिटर किनेर दिने गरेपनि अहिले विद्युतले समयमा विद्युत नदिएको गुनासो नागरिकले गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५