छाउपडी र बालविवाहका मुद्धालाई विशेष जोड दिन्छु : कुन्ती शाही

सुर्खेत : कर्णालीबाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार कुन्ती शाहीले कर्णालीमा छाउपडी र बालविवाहको समस्या न्यूनीकरणका लागि पहल गर्ने बताएकी छन् । कर्णालीमा सबैभन्दा बढी छाउपडी र बालविवाहको देखिएकाले यी मुद्धाहरुमा रहेर काम गर्ने शाहीको भनाइ छ । शाही राप्रपाबाट दैलेखको निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभाको उम्मेदवार हुन् ।

उनले कर्णालीका महिलाहरुमा व्याप्त हिंसा न्यूनीकरणमा लागिपर्ने भन्दै घरदैलो अभियानमा लागेकी छन् । ‘छाउपडी प्रथा न्यूनीकरणका लागि कानुन बनाएर मात्र हुँदैन’ उनी भन्छिन्, ‘यसको लागि उनीहरुको मानसिकता नै परिवर्तन गर्न जरुरी छ, उनीहरुलाई बिस्तारै सचेतना गर्दै लग्यौ भने न्यूनीकरण गर्न सकिन्छ ।’ त्यसैगरी गरिबी र अशिक्षाको कारण यहाँ बालविवाह बढ्दो मात्रामा रहेको भन्दै यसलाई विशेष योजना बनाएर न्यूनीकरण गर्न जरुरी रहेको उनको भनाइ छ ।

महिलाको अर्थपूर्ण रुपमा नेतृत्व तहमा पुगेमा मात्र महिलाका मुद्धाहरु उठान हुनुको साथै समाधान हुने शाहीले बताइन् । ‘महिलालाई दया र मायाको पात्र बनाइन्छ’ इकागजसँग कुरा गर्दै उनी भन्छिन्, ‘अहिले कर्णालीमा प्रत्यक्षमा  म सहित दुईजना मात्र महिलाले मात्र उम्मेदवारी प्राप्त गरेका छौ ।’ महिला नेतृत्वमा नपुग्दासम्म महिलाका मुद्दा उठान हुन नसक्ने उनले जिकिर गर्छिन् ।

‘कर्णालीका महिलाका नाममा करोडौ रकम आउँछ तर, त्यो कतातिर गइरहेको छ, त्यसको खोजी भएको छैन’ शाही भन्छिन्, ‘यसको लागि सम्बन्धित वर्गलाई जानकारी गराउन जरुरी छ ।’

पहिलो संविधानसभामा राप्रपाबाट सभासद् बनेकी शाही त्योबला बनेको गठबन्धनको सरकारमा पहिलो पटक राज्यमन्त्री समेत भएकी थिइन् । राप्रपाको अघिल्लो महाधिवेशनमा सह–महामन्त्री रहेकी कुन्ती दोस्रो संविधानसभामा पनि सभासद् भइन् । गोमा कुँवर जुम्लाबाट पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेकी छिन् । माओवादी केन्द्रतर्फबाट प्रतिनिधित्व गर्दै गोमा यसअघि राज्यमन्त्री समेत बनिन् । राप्रपा महामन्त्री समेत रहेकी कुन्तीले पञ्चायती व्यवस्थाको अन्त्यपछि कांग्रेस र कम्युनिस्ट पार्टीहरूले विद्यालय तहमा भ्रातृ संगठनको विस्तार गर्ने बेला कक्षा ८ मा पढ्दै गर्दा अनेरास्ववियु पाँचौँको झण्डा समातेकी थिइन् । उनी संगठनको सचिव भइएपनि पञ्चायती राजनीति गरेको पारिवारिक पृष्ठभूमि भएकाले उनी छिट्टै राप्रपामा संगठित हुन पुगिन् । सुरुवातमा अनेरास्ववियुमा राजनीतिको पाइला चालेकी कुन्ति २०४७ सालमा राप्रपा स्थापनापछि नै सो पार्टीको विद्यार्थी राजनीतिमा लागेकी थिइन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५