रक्तदानमा युवालाई प्रेरित गरौँ

दैलेख: नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले रक्तदानमा युवालाई प्रेरित गर्नुपर्ने बताएका छन् ।१९औं स्वयंसेवी रक्तदाता समाजको स्थापना दिवसको अवसरमा दैलेखमा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै शर्माले सो कुरा बताएका हुन् ।

स्वयंसेवी रक्तदाता समाज दैलेखका अध्यक्ष अमर  सुनारको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जिल्लामा रक्तसञ्चार केन्द्र स्थापना भएको र त्यसलाई जीवन्त राख्न रक्तदाताको महत्त्व रहेको बताए । रक्तदाताले स्वैच्छिक रूपमा रगतको दान दिने चाहाना अनुसार रक्त सञ्चार केन्द्र स्थापना भएको बताएका थिए ।

दैलेखमा रगतको आवश्यकता परे आर्मी र प्रहरीलाई गुहार्नुपर्ने बाध्यता रहेको छ । यसै बिच रक्तदानमा सहयोग गरेको भन्दै सशस्त्र प्रहरी र नेपाल प्रहरीका कार्यालय प्रमुखहरूलाई सम्मान गरिएको छ । त्यस बखत दैलेख अस्पतालका ल्याव टेक्निसियन टकबहादुर भण्डारीले रक्तदान गर्न चाहनेहरूले रगत दिने विधि र रगत दिइने व्यक्तिलाई रक्त सञ्चार गराउने प्रक्रियाका विषयमा प्रकाश पारेका थिए । नारायण बहुमुखी क्याम्पसका विद्यार्थीहरूमा रक्तदान बारेमा उत्प्रेरण जगाउन कार्यक्रम गरेकोमा करिब आधा विद्यार्थीहरूले रगत समूह नै चेक नगराएको जानकारी दिएका थिए ।

कार्यक्रमको समापनमा बोल्दै नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष समेत रहेका अमर सुनारले हालसम्म २१ पटक रक्तदान गरेको बताए । हरेक ३ महिनामा आफै नष्ट हुने रगत दिएर कसैको ज्यान जोगाउन सकिन्छ भने किन रक्तदान नगर्ने उनले भने । २०६२ माघ १५ गते स्थापना भएको नेपाल स्वयंसेवी रक्तदाता समाजले मङ्गलवार १९औं स्थापना दिवस मनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५