१० गुणा बढी फैलिने ‘एक्स ई’ भाइरसबाट नेपाल कति जोखिममा ?

छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ देखियो । एक्स ई भेरियन्ट १० गुणा बढी फैलिने विज्ञहरूको दाबी छ । ‘यो भेरियन्ट छिटो फैलिने क्षमताको छ । १० गुणा बढी फैलिने देखिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् ।  तीन महिनाको अवधिमा भारतमा ‘आर भ्यालु’ पनि एकभन्दा बढी देखिएको छ । आर भ्यालु बढी देखिनु भनेको जोखिम पनि बढ्नु हो । ‘आर भ्यालु जति धेरै भयो, त्यति जनालाई सर्ने र संक्रमण फैलिने जोखिम हुन्छ,’ डा. पुन भन्छन् ।

नयाँ भेरियन्टसँगै संक्रमणको ग्राफ पनि भारतमा उकालो लागेको छ । बुधबार २०६७ जना नयाँ संक्रमित थपिँदा सक्रिय संक्रमितको संख्या १२ हजार पुग्यो । भारतमा संक्रमण फैलिँदा नेपालमा पनि जोखिम बढेको विज्ञहरू बताउँछन् । ‘भारतमा देखिएपछि नेपाललाई पनि हिट गर्ने विगतको अनुभव छ । तर, कुन भेरियन्ट फैलिएर संक्रमण बढाउन मद्दत गरेको छ, त्यो महत्त्वपूर्ण हुन्छ,’ डा. पुन भन्छन् ।

भारतमा हाल ओमिक्रोनबाट बनेको बीए १ र बीए २ फैलिएको छ । बीए १ र बीए २ मिलेर बनेको ‘एक्स ई’ भेरियन्ट पनि फैलिने क्रममा छ । यसरी दुई वा दुईभन्दा बढी भाइरस मिलेर बनेको नयाँ भेरियन्ट हाइब्रिड भएको बताउँछन् डा. पुन । ‘एउटै व्यक्तिलाई दुई वा दुईभन्दा बढी भाइरसले संक्रमण गरेमा हाइब्रिड भाइरस बन्छ,’ उनी भन्छन् ।

अर्को छिमेकी देश चीनमा पनि संक्रमण बढिरहेको छ  ।  चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भयो ।  योसँगै पछिल्लो पटक सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको थियो । तीव्र रूपमा फैलिएको ओमिक्रोन भाइरस तीव्र रूपमा फैलिएको छ ।

नेपाल–भारत सीमा नाकामा सतर्कता

दुवै छिमेकी देशमा संक्रमण फैलिएपछि सीमानाकामा सतर्कता बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले नाकामा निगरानी बढाउन सम्बन्धित निकायमा निर्देशन दिएको छ । ‘छिमेकी देशमा संक्रमण बढ्दै गएकाले प्रवेश विन्दुमा सावधानी बढाउन र निगरानी चुस्त बनाउन सबै निकायलाई अनुरोध गरेका छौँ,’ मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रा भन्छिन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५