नमुना सभामार्फत युवा नेतृत्व विकासमा प्रदेश सरकारको जोड

सुर्खेत:  कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले युवामा नेतृत्व क्षमता, लोकतान्त्रिक अभ्यास, सार्वजनिक उत्तरदायित्व तथा नीति निर्माण प्रक्रियाप्रतिको बुझाइ विकास गर्ने उद्देश्यले सञ्चालन गरेको प्रदेश नमुना सभा अभ्यास कार्यक्रम–२०८२/०८३ सम्पन्न भएको छ । वीरेन्द्रनगरस्थित कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रमा असार १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको चारदिने कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट छनोट भएका १६ देखि २४ वर्ष उमेर समूहका ४० जना युवाको सहभागिता रहेको थियो । याे कार्यक्रम चाैथाे पटक गरिएकाे आयाेजकले जनाएकाे छ ।

कार्यक्रममा सहभागी युवाले प्रदेश सभाको वास्तविक कार्यशैली अनुसार सभामुख, मुख्यमन्त्री, मन्त्री, सांसद तथा प्रतिपक्षको भूमिका निर्वाह गर्दै संसदीय प्रक्रिया, नीति निर्माण, विधेयकमाथिको छलफल, प्रश्नोत्तर तथा निर्णय प्रक्रियाको व्यवहारिक अभ्यास गरेका थिए । खेलकुद महाशाखा प्रमुख देवीप्रसाद पौडेलको अध्यक्षता तथा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा सहभागी प्रतिनिधिहरूलाई मन्त्री भण्डारीले प्रमाणपत्र वितरण गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले प्रदेश नमुना सभा अभ्यास केवल राजनीतिक नेतृत्व उत्पादन गर्ने कार्यक्रम नभई प्रशासनिक, सामाजिक, विकास व्यवस्थापन तथा सार्वजनिक जीवनका सबै क्षेत्रमा आवश्यक पर्ने सक्षम नेतृत्व निर्माण गर्ने अभ्यास भएको बताए । उनले लोकतान्त्रिक मूल्य–मान्यता, उत्तरदायित्व, नीति निर्माण प्रक्रिया, संवाद क्षमता र निर्णय गर्ने सीप सिकेका युवाले भविष्यमा जुनसुकै क्षेत्रमा काम गरे पनि त्यसले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने विश्वास व्यक्त गरे । नेतृत्व भनेको केवल चुनाव जितेर सांसद वा मन्त्री बन्नु मात्र होइन, मन्त्री भण्डारीले भने, असल प्रशासक, योजनाविद्, शिक्षक, उद्यमी, सामाजिक अभियन्ता र जिम्मेवार नागरिक बन्न पनि यस्ता अभ्यास आवश्यक छन् । सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समाज रूपान्तरणमा योगदान दिनुहोस् ।

कार्यक्रमका सहभागी युवाले कर्णाली प्रदेशका जल्दाबल्दा समस्या र सम्भावनाबारे मन्त्रीसमक्ष आफ्ना धारणा तथा सुझाव समेत प्रस्तुत गरेका थिए । उनीहरूले कर्णालीमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच, युवाको बढ्दो बेरोजगारी, वैदेशिक पलायन, कृषि तथा पर्यटनको व्यवसायीकरण, सडक तथा डिजिटल पूर्वाधारको विस्तार, दुर्गम बस्तीमा आधारभूत सेवा प्रवाह, जलवायु परिवर्तनको प्रभाव, प्राकृतिक स्रोतको संरक्षण तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न प्रदेश सरकारले थप प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका थिए ।

युवाहरूले अवसरको अभावका कारण कर्णालीका प्रतिभाशाली युवा प्रदेश बाहिर तथा विदेश पलायन हुन बाध्य भएको उल्लेख गर्दै प्रदेशमै उद्यम, नवप्रवर्तन, सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्न सरकारको विशेष ध्यान जानुपर्ने सुझाव दिएका थिए । उनीहरूले नीति निर्माणका विभिन्न तहमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि आग्रह गरेका थिए । युवाहरूका सुझाव सुनेपछि मन्त्री भण्डारीले उठाइएका विषयहरू प्रदेशको समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएका महत्वपूर्ण मुद्दा भएको उल्लेख गर्दै यस्ता रचनात्मक सुझावलाई मन्त्रालयले नीति तथा कार्यक्रम निर्माणका क्रममा गम्भीरतापूर्वक अध्ययन गर्ने प्रतिबद्धता जनाए ।

समापन कार्यक्रममा अध्यक्षता गर्दै खेलकुद महाशाखा प्रमुख देवीप्रसाद पौडेलले युवामा नेतृत्व क्षमता, निर्णय गर्ने सीप, संवाद कला, तार्किक बहस, सार्वजनिक उत्तरदायित्व तथा लोकतान्त्रिक संस्कार विकास गर्ने उद्देश्यले नमुना सभा अभ्यास कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार यस्ता अभ्यासले युवालाई लोकतान्त्रिक प्रणालीको व्यवहारिक अनुभूति दिलाउनुका साथै भविष्यका सक्षम, जिम्मेवार र दूरदर्शी नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष मधुवन बिसी, गैरसरकारी संस्था महासंघ कर्णालीका अध्यक्ष घनश्याम केसी तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष मधुवन बिसीले लोकतान्त्रिक अभ्यास, संसदीय प्रणाली र सार्वजनिक जवाफदेहिताबारे युवालाई व्यवहारिक ज्ञान दिने यस्ता कार्यक्रम समयसापेक्ष र प्रभावकारी रहेको बताए । उनले कार्यक्रममा प्राप्त ज्ञान र अनुभवलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यमका रूपमा उपयोग गर्न सहभागी युवालाई आग्रह गरे । राष्ट्रिय युवा परिषद्का उपसचिव तथा कार्यक्रमका प्रमुख प्रशिक्षक कर्णबहादुर कुँवर, प्रदेश सभा सचिवालय कर्णाली प्रदेशका शाखा अधिकृत राजेन्द्र पौडेल लगायतका प्रशिक्षकहरूले प्रदेश सभाको कार्यप्रणाली, संसदीय अभ्यास, विधेयक निर्माण प्रक्रिया, नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासका विविध विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रमलाई सञ्चालन तथा सहजीकरण रेशम खत्रीले गरेका थिए । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश नमुना सभा अभ्यास कार्यक्रमले सहभागी युवामा सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, नीति निर्माण प्रक्रियाप्रतिको बुझाइ, लोकतान्त्रिक अभ्यासप्रतिको सकारात्मक दृष्टिकोण तथा सामूहिक निर्णय गर्ने संस्कार विकास गर्न उल्लेखनीय योगदान पुर्‍याएको छ । मन्त्रालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेशभरका युवालाई लोकतान्त्रिक अभ्यास र नेतृत्व विकाससँग जोड्ने लक्ष्य लिएको जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५