भगवतीमाई स्थानीय युवा परिषद गठन गर्ने पहिलो पालिका

दैलेखः भगवतीमाई गाउँपालिकाले सथानीय युवा परिषद गठन गरेको छ। भवगतीमाई गाउँपालिका कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये स्थानीय युवा परिषद गठन गर्ने पहिलो स्थानीय तह बनेको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार उपयोग गरी भगवतीमाई गाउँ कार्यपालिकाले स्थानीय युवा परिषद गठनसम्बन्धि कार्यविधि तयार पारेको थियो। २०७९ मंसिर २८ गतेको कार्यपालिका वैठकले भगवतीमाई गाउँपालिका गाउँ युवा परिषद कार्यविति, २०७९ पारित गरेको थियो।

कार्यविधिको नियम ५ को उपनियम १ (ख) बमोजिम यही फागुन २ गते गाउँ युवा परिषद गठन गरेको हो। भगवतीमाई गाउँ युवा परिषदको कार्यकारी उपाध्यक्षमा राजेन्द्र अधिकारीलाई मनोनित गरिएको छ।

कर्णाली पहिलोपटक गठन भएको स्थानीय तहको युवापरिषदमा उपाध्यक्षको जिम्मेवारी पाएका अधिकारीले आफ्नो क्षमताले भ्याएसम्म कार्यविधिले तोकेका कर्तव्य पूरा गर्ने प्रतिबद्धता जनाए। गाउँपालिकाले गठन गरेको युवा परिषदको पूर्ण समिति १४ सदस्यीय रहने व्यवस्था कार्यविधिमा गरिएको छ।

 गाउँपालिका अध्यक्ष परिषदको अध्यक्ष रहने, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था कार्यविधिमा गरिएको छ। परिषदका पदाधिकारी तथा सदस्यहरुको पदावधि चार वर्षको रहनेछ। यस्तै परिषदका ६ सदस्यीय कार्यकारी सदस्य रहने व्यवस्था कार्यविधिले गरेको छ।

कार्यविधिमा उपाध्यक्ष गाउँ कार्यपालिकाले मनोनयन गर्ने, परिषदका पदेन सदस्यबाहेकका सदस्यहरुबाट कम्तिमा एक जना महिला रहनेगरी युवा परिषदबाटै तीन जना सदस्य मनोनयन गर्ने व्यवस्था गरिएको छ।

गाउँपालिकाले युवा सम्बन्धी दीर्घकालीन नीति तर्जुमा गरी पालिकालाई सिफारिस गर्ने, पालिकाबाट स्वीकृत नीतिको अधिनमा रही युवासम्बन्धि योजना तथा कार्यक्रम बनाउने, पालिकास्तरमा युवा जागरण, सशक्तिकरण, युवा परिचालन, नेतृत्व विकास, सीप विकास, उद्यमशीलता, युवा स्वयंसेवक परिचालन गर्ने, युवाका क्षेत्रमा काम गर्न रास्ट्रिय युवा परिषद, प्रदेश युवा परिषद, जिल्ला युवा समिति लगायतका निकायसँग समन्वय गर्ने लगायतका काम, कर्तव्य र अधिकार गाउँ युवा परिषदलाई तोकेको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५