दैलेख: नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् कार्यसम्पादन समितिका संयोजक जीवन बहादुर शाहीले नेपाली काँग्रेस फाटेको दही जस्तो नभई कलेजो जस्तो हुनुपर्ने बताए ।
दैलेख सदरमुकाममा नेपाली काँग्रेस दैलेखले आयोजना गरेको अन्तरक्रिया तथा प्रवोधनका कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै ‘बिजुलीको नेगेटिभ र पोजेटिभ तार छुट्टाछुट्टै हुने भए पनि सही तरिकाले बल्ब जोड्दा बत्ती बल्छ तर दुइटै तार जुधाउँदा बिजुली सर्ट भएर दुर्घटना हुन्छ,उनले भने ।
पार्टीको काममा तार जुधाउने काम नगर्न कार्यकर्ताहरूलाई सुझाव उनको सुझाव छ । पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले स्वादिलो सुन्तला, पेट्रोलियम पदार्थ अन्वेषण भइरहेको विशेष जिल्ला भएकोले यहाँ छिटो उन्नत विकास हुनसक्ने सम्भावना भएकोले प्रदेश सरकार र केन्द्र सरकारले पनि लगानीमा चासो राखेको सुनाए । उनले कार्यकर्ताको प्रश्नको जवाफमा विकास कार्यक्रमहरू ठेकेदारहरूको बदमासीका कारण समयमै र गुणस्तरीय हुन नसकेको उल्लेख गर्दै खबरदारी बढाउन आग्रह गरे ।
नेपाली काँग्रेस दैलेखका जिल्ला सभापति मणिराम रेग्मीको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, ऊर्जा मन्त्री विजया बोहरा, कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्री, नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललित जङ्ग शाही, हुम्ला सभापति मोहनविक्रम सिंह, काँग्रेसका जिल्ला प्रवक्ता सन्देश कठायत लगायतका वक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको समापनमा बोल्दै नेपाली काँग्रेसका दैलेखका सभापति मणिराम रेग्मीले नेपाली काँग्रेस एकजुट हुँदै जानुपर्ने बताए । उनले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै नेपाली काँग्रेसले दैलेखका ९० वटै वडामा अधिवेशन गर्न लागेकोले सबैले त्यसतर्फ ध्यान दिनुपर्ने धारण राखे ।
खुल्ला प्रेस । १२ पुष २०८१, शुक्रबार २१:४४