भदौ २४ मा ‘ऐना झ्यालको पुतली’

काठमाडौं : सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई देखाउन खोजिएको छ। ट्रेलरले दिदीभाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गरेको छ। फिल्म भदौ २४ मा सार्वजनिक हुँदैछ।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको फिल्म हो। बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको चलचित्रले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो।

लेखक/ निर्देशकका रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो। सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए। जुन १४ मिनेट अवधिको लघु फिल्म थियो। फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ। तर, जति चोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आई परेर उनको त्यो सपना भताभुंग हुन्छ।

सुजितले किशोरीको पढ्ने सपनालाई  ऐनाजस्तो झ्यालमा अडकएको पुतलीसँग तुलना गरेर कथा तयार गरेको बताए। ‘ऐना झ्यालमा अड्कएको पुतलीले बाहिर के छ सबै देख्छ तर, जति प्रयास गरे पनि निस्कन सक्दैन। हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ’,‘ सुजितले भने, ‘उसलाई बाहिर निस्कनु पर्छ। तर, हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ। यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्व देख्न सक्छौं।’ किशोरी र उनको नौ वर्षको भाइबीचको बालसुलभ सम्बन्ध पनि फिल्मको रोचक पक्ष रहेको सुजितले बताए।

फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतका कलाकारको अभिनय छ। सिरु विष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन्। आइसफल प्रोडक्सन, लोकल सिनेमा र आर्को फिल्मको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रवीण स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र  सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्।

फिल्ममा  अमर महर्जनको छायांकन, किरण  श्रेष्ठको सम्पादन, पुष्पसंगमको संगीत, कला संग्रौलाको प्रोडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५