दैलेख : नागरिकतामा ‘कुकुर कामी’ नाम लेखिएको विषयले अपमान बोध भएको भनी गाउँमा आफू चिनिएको नाम कविराम कायम गरी नागरिकता पाऊँ भन्दै भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका कविराम कामीले जिल्ला प्रशासन कार्यालय दैलेखमा आज मंगलबार निवेदन दर्ता गराउनुभएको छ ।
नाम कविराम हो भन्दाभन्दै त्यसबेला गाउँका उट्पट्याङ्ग गर्नेहरुले जिस्काएर भनेको भरमा प्रधानपञ्चले सिफारिस गरेको आधारमा नागरिकता टोलीले दिएको नागरिकतामा ‘कुकुर कामी’ लेखेको र यसले आफूलाई अपमान बोध भएको निवेदनमा उल्लेख गरिएको छ ।
नागरिकतामै ‘कुकुर कामी’ नाम लेखिएको कारण अपमान बोध गरेकोले उहाँलाई कविराम नाम कायम नागरिकताको प्रतिलिपी उपलब्ध गराइदिन भगवतीमाई गाउँपालिका ३ नं. वडा कार्यालयले गरेको सिफारिस र प्रमाणित अनुसूची पनि निवेदकले संगै पेश गरेको छ ।
‘त्यसबेलाको शोषण दमनकारी शैलीबाट त्यसबेला नागरिकतामै अपमान बोधक नाम लेखिएको कुरा आमसञ्चार माध्यममा चर्चाको विषय बनेपछि गृह मन्त्रालयले सोमबार मात्रै पहिले वितरित नागरिकतामा त्यस्ता अपमान बोध गराउने नामहरु सच्याउन गरेको परिपत्रको आधारमा मैंले सिफारिस गरेको हुँ’ भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काले बताए ।
कविरामको निवेदन पेश भए लगतै गृह मन्त्रालयमा परामर्श गरेको र मन्त्रालयको परिपत्रले विधि, प्रक्रिया पूरा गरी नाम सच्याउन भनेकोले केही बुझबिस्तार गरी छिटै कविराम कामी कायम गरी नागरिकता दिइने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताएका छन् ।
कविरामलाई नागरिकतामै ‘कुकुर कामी’ नाम लेखिएको विषय सुरुमा उज्यालो अनलाइनमा प्रकाशित भएपछि अरु सञ्चार माध्यममा पनि अरुहरु जिल्लामा पनि दलित समुदायका व्यक्तिहरुलाई कुकुर्नी कामी, कुत्ता बादी, फ्याउरो बादी नाममा नागरिकता दिएको समाचारहरु सार्वजनिक भएका थिए ।

अपहेलित गर्ने गरी राखिएका ती नामहरु सबैजसो दलित समुदायकै व्यक्ति परेको भन्दै संसद दुर्गा बिक, पार्वती बिशुन्के लगायतका दलित साँसदहरुले आवाज उठाउनुभएको र सामाजिक सञ्जालमा पनि बहसको विषय बनेपछि गृह मन्त्रालयले नयाँ नागरिकतामा अपमानजन्य नाम नराख्न र पहिले वितरण भएका नागरिकतामा नाम सच्याउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको थियो ।
नाम सच्याउन परिपत्र गरिसकेपछि पनि ती व्यक्तिहरुका मतदाता नामावली, जग्गाधनी पूर्जा, राहदानी समेत बदल्नुपर्ने, नाम सच्याइने व्यक्तिका श्रीमान–श्रीमति, छोराछोरी नातिनातिना समेत धेरैका कागजपत्रहरु संशोधन गर्नुपर्ने भएकोले ती व्यक्तिहरुले आफूलाई अपमान लागेको नामहरु संशोधनका लागि व्यक्ति निवेदन दिने र प्रशासनले सच्याउने बारे छुट्टै निर्देशिका पठाउन लागिएको गृह मन्त्रालयका नीति, योजना तथा मूल्यांकन महाशाखाका इञ्चार्ज सहसचिव डा. भीष्मकुमार भुसालले बताए ।
गृह मन्त्रालयले नयाँ नागरिकतामा अपमानजन्य नाम नराख्न र पहिले वितरण भएका नागरिकतामा नाम सच्याउन सबै जिल्ला प्रशासन कार्यालय गरेको परिपत्रकै आधारमा संशोधनको कार्य सुरु गर्नुपर्ने मानव अधिकार रक्षक सञ्जाल दैलेखका जिल्ला संयोजक बिशाल सुनारको सुझाव छ । ‘परिपत्रले प्रयाप्त छ, विधि प्रक्रिया भनेर फेरि कामलाई अल्मलाउने कुचेष्टा नहोस्’ संयोजक सुनारको टिप्पणी छ ।



खुल्ला प्रेस । २४ श्रावण २०७९, मंगलवार २१:४७