दैलेख : दैलेखको भैरबी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएसँगै गाउँपालिकाले दुवै पदमा महिला पाएको छ। नयाँ संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचन २०७४ मा एमालेले जितेको यो गाउँपालिकामा अहिले कांग्रेसले जितेको हो।
कांग्रेस केन्द्रीय सदस्य सीता कुमारी रानाको गृह पालिका भैरबीको अध्यक्षमा कांग्रेसकी रिता शाही निर्वाचित भएकी छन्। उनले ३ हजार ९७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निकटतम् प्रतिद्वन्द्वी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत पाए। महतारा निवर्तमान जिल्ला समन्वय समितिका सदस्य हुन्। गाउँपालिकाको अध्यक्षमा निर्वाचित शाही कांग्रेस दैलेखका उपसभापति हुन्।
२०७४ को स्थानीय तह निर्वाचनमा भैरबी गाउँपालिका–३ को वडाध्यक्षमा निर्वाचित देवी भण्डारी अहिले उपाध्यक्षमा निर्वाचित भएकी छन्। कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भण्डारी २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित हुने दैलेखको ९० वडामै एक्लो हुन्। उनी ३ हजार ३७४ मतसहित गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन्।
निकटतम् प्रतिद्वन्द्वी एमालेका पदमकुमारी विष्टले ३ हजार २२७ मत पाइन्। विष्ट २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
यो गाउँपालिकामा ४ वटा वडामा एमाले, २ वटामा कांग्रेस र १ वटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्।
खुल्ला प्रेस । २ जेष्ठ २०७९, सोमबार ०५:५९