दैलेखः पब्लिक स्पिच नेपाल २०८१ मा दैलेखका दिल बहादुर भण्डारी बिजेता बनेका छन् । काठमाण्डौंमा सम्पन्न पब्लिक स्पिच नेपाल २०८१ को फाईनल राउण्डबाट भण्डारी बिजेता बनेका हुन् ।
यसैगरी प्रतियोगितामा धरानकी सुशिला धमला दोस्रो र कपिलबस्तुकी गंगा घिमिरे तेस्रो हुन सफल भएका छन् ।
पहिलो, दोस्रो तथा तेस्रो हुने विजेताहरुलाई क्रमश ५० हजार, ३० हजार र २० हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान गरियो । यसैगरी “सकारात्मक सोच” मा बाँकेकी करुणा खनाल सर्वोत्कृष्ट हुन सफल भएकी छिन् । खनाललाई २५ हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिएको छ ।
यसैगरी ईसेवाका माध्यमबाट सर्वोत्कृष्ट मत प्राप्त गर्दै दाङका जय पृथ्वी बुढाथोकीले पब्लिक च्वाईस अवार्ड प्राप्त गरेका छन् । बुढाथोकीले २० हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्राप्त गरेका छन् ।तीन चरणमा गरिएको प्रतियोगिता अन्तर्गत पहिलो चरणको अडिसन राउण्ड बास नेपालले सम्पन्न गरेको हो । प्रतियोगितामा सहभागिता जनाउन चाहने प्रतियोगिहरुका लागि खुला सूचना जारी गरिएकोमा देशैभरबाट २ सय १४ जना सहभागिहरुले तोकिएको ढाँचामा समसामयिक बिषयमा बोलिएको भिडियो सामाग्री आयोजकलाई उपलब्ध गराएका थिए ।
अडिसन राउण्डबाट १ सय ३ जना सेमिफाईनल राउण्डका लागि छनौट भएका थिए । अडिसन राउण्डको नतिजा भाद्र १७ गते आयोजकले प्रकाशन गरेको थियो ।अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरुबीच भाद्र २२ गते काठमाण्डौंमा सेमिफाईनल भएको थियो । सेमिफाईनलबाट १६ जना प्रतियोगिहरु फाईनल राउण्डमा प्रबेश गरेका थिए ।
प्रतियोगितामा पूर्ब अर्थसचिव एवं सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार बिरुद्धका अभियन्ता एवं गोगो फाउण्डेसनका संस्थापक अध्यक्ष केदार खडका, मदन पुरस्कार बिजेता साहित्यकार एवं बरिष्ठ सञ्चारकर्मी डाक्टर नवराज लम्साल, नेपाल टेलिभिजनकी बरिष्ठ समाचार सम्पादक एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष अनिता बिन्दु र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी सदस्य रहेको निर्णायक समितिले निर्णायकको भुमिका निर्वाह गरेको थियो ।
बिजेताहरुलाई प्रतिनिधिसभा सदस्य डा धवल शमशेर राणा, निर्णायक समिति संयोजक राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुबेदी, ह्याण्डिक्याप ईण्टरनेशनलका राष्ट्रिय संयोजक बिरेन्द्र ठगुन्ना, कर्ण सकारात्मक कोषका संयोजक प्रबिण शाक्य, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, सामाजिक अगुवा शान्तलाल मुल्मि लगायतले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय डाक्टर धवल शमशेर राणा, निर्णायक समिति संयोजक राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, वातावरणविद्, लेखक तथा समाजसेवी कर्ण शाक्य लगायत बक्ताहरुले युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्न र युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताए ।
बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए ।
खुल्ला प्रेस । ३१ भाद्र २०८१, सोमबार ०६:५९