कार्यविधि मिचेर बनाइयो सिडिओ, स्वार्थ बाझिने जोखिम

सुर्खेत: गृह मन्त्रालयको सिडिओ पदस्थापन वा सरुवा कार्यविधिमा गृहजिल्लामा कर्मचारीलाई सिडिओ बनाएर खटाउन रोकेको छ । कार्यविधिको दफा ५ (ङ) मा कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइनेछैन’ भन्ने व्यवस्था छ ।

तर, गृह मन्त्रालयले हालै गरेको सरुवामा दुईजनालाई गृहजिल्लाकै सिडिओ बनाएर पठाएको छ । गृहजिल्लाकै कर्मचारीलाई सिडिओको जिम्मेवारी तोकेर पठाउँदा स्वार्थ बाझिने जोखिम हुने र अपराध अनुसन्धान, शान्तिसुरक्षालगायतमा प्रतिकूल असर पुग्ने यससम्बन्धी अधिकारीहरू बताउँछन् ।
गृहले सिडिओका रूपमा महोत्तरीमा सरुवा गरेका सहसचिव लालबाबु कवारी त्यसै जिल्ला स्थायी ठेगाना भएका व्यक्ति हुन् । उनी विवादित सहसचिव हुन् । सिराहाको सिडिओ हुँदा जग्गासम्बन्धी विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको थियो ।

यही आरोपउपर गृह मन्त्रालयले उनीमाथि छानबिन पनि गरेको थियो । आरोपबिच गोरखाको सिडिओ बनाएर पठाएपछि गृह मन्त्रालयले रमाना लिन नपाउँदै उनको सरुवा रद्द गरेको थियो । तर, उनीमाथिको छानबिन अझै पनि टुंगोमा पुगेको छैन ।

यही ७ असोजदेखि दैलेखमा सिडिओका रूपमा कार्यरत नवराज जैशी पनि त्यही जिल्ला स्थायी ठेगाना भएका कर्मचारी हुन् । जैशीलाई पनि मन्त्रालयले गृहजिल्लामै सिडिओ बनाएर पठाएको छ । हाल नुवाकोटको सिडिओमा कार्यरत सहसचिव रामकृष्ण अधिकारी पनि नुवाकोट स्थायी ठेगाना भएका हुन्

साभार :नयाँपत्रिका 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५