जाजरकोटः माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) भित्र छलफलले तीव्रता पाएको छ । चुनाव हारेकादेखि युवाहरु राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लबिङमा लागेका छन् । राष्ट्रियसभा सदस्यका तीन वटा मात्र सिट रहेका छन् । गठबन्धनकै आधारमा प्रतिस्पर्धा गर्ने हो भने कर्णालीमा तीन सिटमा तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले १/१ उम्मेदवार पाउने छन् ।
यद्दपि ती दलमा आकांक्षीको भने लामो लर्को लागेको छ । नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभामा जान चाहनेमा युवा नेतादेखि बौद्धिक नेता र पूर्व राज्यमन्त्रीको दाबी देखिएको छ । जाजरकोटबाट ढकबीर राना, गगनबहादुर खड्का, पूर्वमन्त्री गणेशप्रसाद सिंह राष्ट्रिय सभाका लागि सम्भावित उम्मेदवार हुन् । जाजरकोटमा प्रदेशसभा २ सिट कांग्रेसको भागमा परेकाले प्रतिनिधिसभाको १ सिट मात्र माओवादीको हातमा रहेको छ । हुम्लाबाट माओवादीका जिल्ला संयोजकसमेत रहेका डा.दीपेन्द्र रोकायले दाबी गर्दै आएका छन् ।
प्रदेश योजना आयोगमा समेत काम गरिसकेका रोकाया पूर्व पत्रकार हुन् । यस्तै छिमी लामाले पनि आकांक्षा देखाएका छन् । उनी समानुपातिक संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन् । सल्यानबाट सल्यानकी टीका बुढाथोकीले आकांक्षा देखाएकी छन् । उनी सहिद परिवारकी हुन् । कालिकोटबाट केन्द्रीय सदस्य गंगा खड्का र विष्णु विकले आकांक्षा देखाएका छन् । दलित कोटाबाट विक सम्भावित उम्मेदवार हुन् । जुम्लाबाट प्रतिनिधिसभा सदस्य चुनाव हारेकी गोमा कुवँरले पनि राष्ट्रिय सभामा आकांक्षा देखाएकी छन् ।
०७९ मा प्रतिनिधि सभामा उनी पराजित भएकी थिइन् । कुवँर पूर्वराज्यमन्त्री समेत भइसकेकी नेतृ हुन् । उनले एक पटक समानुपातिकबाट संसदको अनुभव बटुलिसकेकी छन् । दैलेखबाट पुराना माओवादी नेता थीरबहादुर कार्की र प्रेम कटुवालले आकांक्षा देखाएका छन् । कार्की यसभन्दा अघि एक पटक चुनाव लडेर पराजित व्यक्ति हुन् । रुकुम पश्चिमबाट केन्द्रीय सदस्य बसन्त शर्मा, डोल्पाबाट मालबहादुर रोकाया र मुगुबाट सुकवीर बुढाले पनि आकांक्षा देखाएका छन् । बुढाले लगातार ११ वर्ष पार्टीको जिल्ला नेतृत्व सम्हालेका छन् । भागबण्डामा दलित कोटा पर्यो भने कालिकोटका विष्णु विक एक नम्बरमा उम्मेदवार हुने देखिन्छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेशबाट आकांक्षीको लिष्ट पनि ठूलै रहेको छ । चर्चित युवा नेतादेखि यसअघि नै मन्त्रीसमेत भइसकेका कांग्रेसका नेता राष्ट्रिय सभामा जान चाहिरहेका छन् । राष्ट्रिय सभाको उम्मेदवारका लागि कांग्रेस पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारका लागि नाम सिफारिस गरी पठाउन भनेको छ । सोही अनुसार जिल्लाबाट प्रदेश कमिटीमा नाम सिफारिस भएर आइसकेका छन् । कर्णालीबाट एउटा अन्य, दलित र महिला सिटमा उम्मेदवार हुने छन् ।
युवा नेता भूपेन्द्रजंग शाहीले आकांक्षा देखाएका छन् । कालिकोट निवासी शाही यसअघि प्रत्यक्षतर्फ पटक–पटक चुनाव हारेका व्यक्ति हुन् । कालिकोटबाटै कालीबहादुर सहकारी, दैलेखबाट रवीन्द्रराज श्रेष्ठ, हिमबहादुर शाही, रंगबहादुर शाहीको नाम चर्चामा छ । हिमबहादुर शाही ०७४ मा समानुपातिकबाट प्रदेश सभा सदस्य भई कानुन मन्त्री समेत भइसकेका नेता हुन् । रंग शाही पनि गणतन्त्र भन्दा पहिला नै सांसद भइसकेका पुराना नेता हुन् । सुर्खेतबाट डम्बर जिसी नाम समेत चर्चामा रहेको छ ।
मुगुबाट हस्तबहादुर मल्ल, जाजरकोट सनक कार्की, रुकुम पश्चिमबाट कृष्ण रोकाय, मानबहादुर नेपाली, सल्यानबाट पूर्वकेन्द्रीय सदस्य विन्दु रेग्मी, ध्रुव पुरी लगायतका नेताहरूको नाम चर्चामा छ । जुम्लाबाट दीनबन्धु श्रेष्ठको नाम पनि चर्चामा छ । उनी ०७४ मा प्रदेश सभा सदस्य भई जलस्रोत तथा ऊर्जा मन्त्रीसमेत भइसकेका नेता हुन् । लंकबहादुर शाही लगायत अन्य नेताहरूले पनि चाहना देखाएका छन् । महिलातर्फ खासगरी खगिसरा आचार्य, रामछाया शाही, यशोदा शाही लगायतको नाम चर्चामा छ ।
नेकपा एमालले पनि तयारी तीव्र बनाएको छ । आन्तरिक छलफलदेखि केन्द्रका नेतालाई आफ्नो पक्षमा रिझाउन छलफल तीव्र पारिएको छ । एमालेभित्र पनि धेरै जना आकांक्षी रहेको प्रदेश कमिटिका सदस्य नवेन्द्र नेपालीले बताए । नेकपा (एकीकृत समाजवादी) ले पनि छलफल जारी राखेको छ । तीन सिट मध्ये एक सिट पाउनुपर्ने नेकपा (एकीकृत समाजवादी)को तर्क रहँदै आएको छ । जाजरकोटका कृष्ण बिसी लगायतका अन्य नेताहरुको दाबी रहेको छ ।-काराेबारबाट




खुल्ला प्रेस । १२ पुष २०८०, बिहीबार २०:५०