पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशबाट विकासको मूल फुटाउन खाजेको बताएका छन् ।
आइतबार रुकुमपश्चिमको मुसीकोटमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहीले कर्णालीको जल, जमिन, जङ्गल, जडिबुटीमार्फत् समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनले सशस्त्र द्वन्द्वको उद्गमस्थलका रूपमा परिचित मध्यपश्चिम क्षेत्रको कर्णालीबाट विकासको मूल फुटाउन सम्भव रहेको दाबी गरे । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस संसदिय दलको नेता समेत रहनुभएका शाहीले कर्णाली प्रदेशको रुकुमपश्चिम जिल्लामा सबैभन्दा बढी बजेट विनियोजन हुने गरेको तर कार्यान्वयनमा एक पक्ष मात्र हाबी हुँदा जनताले विकासको समान अनुभूति गर्न नपाएको बताए ।
उनले कर्णालीको विकासको नेतृत्व कांग्रेसले मात्र गर्नसक्ने दाबी गरेका छन् । विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्वको जनताले माग गरिरहेको उनको भनाइ छ । कांग्रेस जनताको पार्टी भएकोले जनताका समस्या, गुनासा सुन्दै जनताका आवश्यकताहरू पूरा गर्न तर्फ गम्भीर रहेको उनले उल्लेख गरेका छन् । उनले भूकम्प प्रभावित क्षेत्रमा तत्काल पुनर्निर्माण कार्य सुरु हुने जानकारी दिए ।
मन्त्रीपरिषदमा पेस भएको पुनर्निर्माण कार्यविधि सरकारले चाँडै नै पास गर्ने तयारी गरेको बुझिएको उनले उल्लेख गरेका छन् । अब विगतको विपद्बाट केहि सिकेर नयाँ निर्माणको चरणलाई अवसरका रूपमा लिन समेत उनले आग्रह समेत गरेका छन् ।
यस्तै, वाइबडी जहाज खरिद प्रकरणमा पूर्व मन्त्री शाहीले अन्तराष्ट्रिय हवाई माफियाहरू लागेर नेपाल वायु सेवा निगम डुबाउन खाजेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिका सदस्य समेत रहेका नेता शाहीले वाइबडी जहाज खरिद प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर मुद्धा लगाइएको तर न्यायलयबाट सफाइ पाएको बताए ।
आफू पर्यटन मन्त्री हुनुभन्दा अगाडि नै टेन्डरको काम सुरु भएको र मन्त्रीबाट हटिसकेपछि खरिद भएको जहाजका विषयमा आफूलाई फसाउन खोजिएको उनको भनाई छ ।
करिब नौ महिना निलम्बनमा परेको र अदालतबाट सफाइ पाइसकेपछि कर्णाली फर्कदा जनताको न्यानो माया र आत्मियताको निमन्त्रणामा दस जिल्ला भेटघाटमा निस्किएको उहाँले जानकारी गराऐ । आफ्नो राजनीतिक लोकप्रियता बर्वाद पार्न र पार्टीलाई कमजोर बनाउन रचिएको षड्यन्त्रको जाल चिरेर न्यायालयले न्याय दिएको उनको भनाइ छ ।
खुल्ला प्रेस । २१ पुष २०८१, आईतवार १७:४१