जंगली जनावरले वर्षेबाली नष्ट

दैलेख: दैलेखमा जंगली जनावरले कृषकलाई हैरान बनाएको छ । जिल्लाका अधिकांश पालिकाहरुमा जंगली जनावरले कृषकले लगाएको वर्षे वालीमा क्षती गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् ।

दिनमा बादर र रातमा बदेल, दुम्सीलगायतका जंगली जनावरले मकै वाली नष्ट पारेको कृषकहरुको गुनासो छ । वर्षभरी जतिदुखः गरेपनि जंगली जनावरको आंतकले आफुहरुले खेतीबाट उत्पादित खाद्यान्न खान नपाउने भन्दै कृषकहरुले जग्गाजमिन बाँझै राख्न थालेको नारायण नगरपालिका ६ विजौराका स्थानीय कृषक राजन रावतले बताए ।

‘वर्षे वाली जंगली जनावरले खाएर हैरानी बनाउँछन्, हिउँदेवाली खडेरीले खान्छ’ स्थानीय रविन्द्र रावतले भने, ‘वर्षभरी दुखःगर्‍यो वाली पाक्न नपाउँदै जंगली जनावरको चारो हुन्छ ।’ सरोकारवाला निकायले कुनै चासो र गुनासो नसुन्दा खेती गर्ने किसानहरु कम हुन थालेको स्थानीय रावत बताउँछन् । ‘जंगली जनावरले हैरान पार्न थालेपाछि मैले पनि ३ हलगोरु लाग्ने खेत अहिलेबाट बाँझै छोड्नु पर्‍यो, अब विदेश नगइ परिवार पाल्न सकिदैन’ स्थानीय रावतले भने ।

नौमूले गाउँपालिका, भगवती माइगाउँपालिका, नारायण नगरपालिकालगायत केही पालिकामा बादरले आतंक मच्चाएको छ भने दैलेखको दुल्लु, चामुण्डा बिन्द्रासैनी, आठबिसलगायतका विभिन्न पालिकाका कृषकहरु बदेल तथा बादरबाट आतंकित छन् । उच्च लेकाली भेगका कृषकलाई दुम्सीभार्सेले सताउने गरेको उनीहरुको गुनासो छ । नौमूले ३ का स्थानीय गंगाराम सापकोटाका अनुसार कतै मकैबारीमा पाल टिन हालेर त कतै गोठ छाप्रा टहरा हालेर कुर्दा पनि नसकिने अवस्था सिर्जना भएको छ । टिन ठटाएर रातभर जाग्राम बस्दा पनि मकैबाली जोगाउन नसक्दा हैरानी खेप्नु परिरहेको उनीहरुको दुखेसो छ ।

बदेलले महावु गाउँपालिकाको २,३ र ४ का कृषलाई हैरानी वनाएको स्थानीयवासीको भनाइ छ । रातको समयमा जंगलबाट हुलै बाधेर निस्कने बदेलले केही समयमै वालीनष्ट गर्नुका साथै मानिसमाथि समेत आक्रमण गर्ने गरेको पीडित किसानहरुको भनाइ छ । आठबिस नगरपालिका १ सात्तलाका ५५ वर्षिय बमबहादुर विष्टले बेलुकाको ७ बजेबाट विहानको ५ बजेसम्म कराउँदै टिन बजाउँदा समेत छलेर बदेलले मकै नष्ट पारेको र मकै बचाउन नसकेको बताए ।

बदेल तर्साउनका लागि धेरै किसानले बारीकोबीचमा खाल्डा खन्नुका साथै पासो थापे पनि कुनै उपाय नलागेको विष्ट बताउँछन् । हरेक वर्ष बँदेलको ठूलो संख्यामा वृद्धि हुने भन्दै उनीहरुले वडा कार्यालय, नगरपालिका लगायतका प्रदेश र संघ सरकारसँग नियन्त्रणका उपाय अपनाउन माग गरिरहेका छन् । किसानले वडा कार्यालयलाई क्षति अवलोकनगर्न अनुरोध गरेपछि वडास्तरबाट बदेल प्रभावित बारीको अवलोकन गरिएको छ ।

वडा अध्यक्ष बमबहादुर रावतको टोलिले मुख्य प्रभावित किसानका मकै बारीको अवलोकन गरेको हो । खेतियोग्य जमिन जंगलकोबीचमा बदेलले धेरै क्षति गरेको वडाअध्यक्ष वमले बताए । वडामा सिमित बजेट भएकाले केही उपायगर्न नसकिने भन्दै उनले प्रदेश संघ सरकारबाट जंगल घेरबार काकार्यक्रम गरिने बताए । सरकारी स्तरबाट बदेल बादर लगायतका जंगली जनावरको नियन्त्रणतर्फ ध्यान नपुगेको खण्डमा धेरै बस्तिहरु विस्थापित हुनुका साथै जमिन समेत बाँझो हुने स्थानीवासी बताउँछन् ।

यो वर्ष मात्रै बदेल तथा जंगली जनावरबाट खेतीवाली बचाउन वन घेरवारका लागि कर्णालीप्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दैलेखबाट १५भन्दा बढी निवेदन आएको सचिवालय प्रमुख भुपेन्द्र शाहीले बताए । काराेबार

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५