कर्णाली लोक सेवा आयोगको संरचना तथा दरबन्दी हेरफेर

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको संरचना तथा दरबन्दी हेरफेर गरेको छ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले संरचना तथा दरबन्दी हेरफेर गर्दै तीन महाशाखा, १० शाखासहित ४५ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले पत्रकार सम्मेलन गरेर जानकारी दिए।

यस्तै मुगुका अग्नि पीडितलाई क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको विष्टले जानकारी दिए। आगलागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार राहत रकम प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृत दिएको प्रवक्ता विष्टले बताए।

उनकाअनुसार घरधनीसहित घर भाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत दिइनेछ।

पूर्ण घर क्षतितर्फ १० लाखसम्म क्षति भएकाले एक लाख, ११ देखि ५० लाखसम्म क्षति भएकाले एक लाख ५० हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकाले दुई लाख, एक करोडदेखि एक करोड ५० लाखसम्म क्षति भएकाले दुई लाख ५० हजार, एक करोड ५१ लाखदेखि तीन करोडसम्म क्षति भएकाले तीन लाख ५० हजार र तीन करोडभन्दा माथि क्षति भएकाले चार लाख राहत रकम पाउने छन्।

यस्तै, आंशिक घर क्षतितर्फ एक लाख क्षति भएकाले २५ हजार, २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले ५० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले एकमुष्ट ७५ हजार राहत रकम पाउने प्रवक्ता विष्टले जानकारी दिए।

आगलागीबाट क्षति भएका व्यवसायीहरूतर्फ भने २० लाखसम्म क्षति भएकाले ३० हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकाले ५० हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकाले ७५ हजार र एक करोडभन्दा माथि क्षति भएकाले एक लाख राहत रकम पाउने छन्।

तर घर भाडा बस्नेलाई भने १० लाखसम्मको क्षति भएकाले २० हजार, २० लाखदेखि ५० हजारसम्म क्षति भएकाले ४० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले ६० हजार रकम पाउने निर्णय प्रदेश सरकारले गरेको छ।

कार्तिक २९ गते छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ को गमगढी बजारमा आगलागी हुँदा २० घरमा पूर्ण क्षति पुगेको थियो। आगलागीबाट घर भाडामा बस्ने ३५, व्यवसायी २६ र आंशिक घर क्षति भएका ४ जना विस्थापित भएको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५