दैलेखः दैलेखको विकट गाउँ लकान्द्रमा जन्मिएका जंग बोगटी उमेरले २३ वर्ष पुगे । ठाँटिकाँध गाउँपालिका २ मा जन्मिएका बोगटी उच्च शिक्षा अध्ययन गर्न दैलेख सदरमुकाम आए ।
सदरमुकाममा पढाईखर्च व्यवस्थापन गर्न उनी सदरमुकामका बोर्डिङ्ग स्कुलमा शिक्षण गर्न थाले । बाध्यता र विवसताले दैनिकी चलाउँदै उनी विहान क्याम्पस जाने, दिनभर विद्यालयमा जाने र बँचेको समय साहित्य रचना र सृजनामा खर्च गर्ने गर्थे । सुरु सुरुमा त उनी केही गजल मात्रै लेख्ने गर्थे ।
लेख्दैजाँदा उनले लेखेका गजल एउटा संग्रहमा परिणत भयो । उनले “प्रेमलहरी” नामक एक गजल संग्रह प्रकाशन गरे ।
उनी आफ्नो मनभित्रको साहित्यको भारी विसाउन स्थानीय रेडियोमार्फत साहित्यिक कार्यक्रम सञ्चालन गर्न थाले । यसै शिलशिलामा उनले स्थानीय स्तरमा हुने विभिन्न साहित्यिक कार्यक्रमहरुमा सहभागि हुन थाले । उनका रचना मन पराउनेको संख्या दिनदिने बढ्दै गयो ।
उनको वाचन क्षमता पनि निखारिदै गयो । दर्शक र श्रोताको माया र साथ सहयोगले उनी झन लेखनलाई तिव्रता दिन थाले । लेख्दै जाँदा उनले आफुले भोगेका भोगाई लेख्ने निधो गरे ।
आफुसंग भएको एउटा मोवाईलको स्कृनमा उनी टाइप गर्न थाले । मनका वह, भोगाई र समाजको तितो यथार्थ लिपिबद्ध गर्न थाले । लेख्दै जाँदा उनको लेख एउटा उपन्यास नै बन्यो ।
सानै उमेरमा वुवाको स्वर्गवास भएपछि आमाले दुःखपिडा संग लड्दै गर्दा भोगेका पिडा समेटिएको उनको भोगाइ अव आम मान्छेको भोगाई बनेको छ । आजको समाजमा पनि नारीले बेहोर्नुपर्ने पिडा, राजनितिक विकृति, बैदेशिक रोजगारीमा जानुपर्ने समाजको वास्तविकता र यसले ल्याउने कारुणिक वियोगको कथा समेटिएको उपन्यास “नपुरिएका घाउहरु” विमोचन भएको छ ।
उपन्यास लेखन देखि प्रकाशनसम्म उनले बेहोरेको कठिनाइ यो विमोचनले विर्षाएको छ । उनी भन्छन, मैले यो उपन्यास लेख्छु भन्ने सोचेको पनि थिइन । सबैको मायाले आज उपन्यास सार्वजनिक गर्न पाउँदा निकै गौरव महशुस गरेको छु । उपन्यासकार प्रेम प्रकाश मल्लले पुस्तकको विमोचन गरेका छन् ।

बहुचर्चित उपन्यास झरेका पातहरुका लेखक मल्लले यो मोफसलमै बसेर यस्तो कृति रचना गर्नू आफ्नो लागि पनि गर्भको कुरा भएको बताए । पुस्तकको समालोचना गर्दै नारायण क्याम्पसका उपप्राध्यापक नरेन्द्रराज उपाध्याय र गुणनीधि आचार्यले पुस्तकले आम नेपालीको पिडा दर्शाएको उल्लेख गरे ।
एउटा यूवाले यत्ति ठूलो शाहस गरेर उपन्यास नै रचना गर्नुहोला भन्ने आफुले नसोचेको कला साहित्य उत्थान प्रतिष्ठान कसाउ नेपालका संस्थापक सल्लाहकार सुरेन्द्र अधिकारीले बताए । पुस्तकले समाज परिवर्तनमा महत्वपूणर् भूमिका खेल्नेमा आफुहरु आशाबादी रहेको सहभागीले बताए ।
कार्यक्रममा जिल्लास्थित दर्जनबढी साहित्यकारहरुले विभिन्न लेख रचना वाचन गरको थिए । कार्यक्रमको संयोजन कला साहित्य उत्थान प्रतिष्ठान नेपालले गरेको महासचिव तीर्थ भण्डारीले जानकारी दिए ।



खुल्ला प्रेस । २२ माघ २०७९, आईतवार ०८:५६