
सुर्खेत: कर्णाली प्रदेशमा पहिलो पटक वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा यही असार १८ र १९ गते वीरेन्द्रनगरको सिटी हलमा दुई दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला, २०८२ सञ्चालन हुने भएको हो ।
रोजगारको खोजीमा रहेकाहरूलाई उनीहरूको रुचि, सीप र क्षमताअनुसार वृत्ति विकासको मार्गदर्शन दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्ण खड्काले पत्रकार भेटघाटमार्फत जानकारी दिएका हुन् । उनले रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको बताए ।
मेलाले रोजगारदाता र रोजगार खोज्ने व्यक्तिलाई एउटै ठाउँमा ल्याएर सहकार्यको अवसर प्रदान गर्ने, वृत्ति विकाससम्बन्धी परामर्श सेवा, सीपमूलक तालिमहरूको जानकारी र प्रदर्शनी, रोजगारदातासँग प्रत्यक्ष सम्पर्कको अवसर, कार्यस्थलमा आधारित निःशुल्क तालिमबारे जानकारी, स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिने र मेलामा ४० भन्दा बढी स्टल रहने उपसचिव खड्काले बताए ।
उनका अनुसार मेलामा सरकारी, गैरसरकारी, शैक्षिक, प्राविधिक तथा निजी क्षेत्रका रोजगारदाता र तालिम प्रदायक संस्था सहभागी हुनेछन् । विद्यालयका विद्यार्थीहरूलाई समेत मेलामा अवलोकन गराउने व्यवस्था गरिएको छ ।
मेलाले विदेश जाने सोच बनाएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर पहिचान गर्न सहयोग पुर्याउनुका साथै बेरोजगारी, जनशक्ति पलायन र दक्ष जनशक्तिको अभावलाई ध्यानमा राख्दै स्थानीय श्रम बजारको माग अनुसार जनशक्ति उत्पादनमा सहयोग गर्ने र नीति निर्माणमा समेत मार्गदर्शन गर्ने जनाइएको छ ।




खुल्ला प्रेस । १८ असार २०८२, बुधबार १९:२७