उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सरकारी वकिलहरूले नागरिकता पुनः प्राप्तिको कार्यविधि पालना नगरेकै कारण गैरनागरिक हुन नसक्ने जिकिर गरेका छन्।
बुधबारदेखि लामिछानेको नागरिकतासम्बन्धी रिटमा सुनुवाइ शुरु भएको छ। सरकारी वकिलहरूले लामिछानेले नागरिकता पुनःप्राप्तिका लागि नागरिकता नियमावलीले तोकेको कार्यविधि भने पालना नगरेको स्वीकार गरेका छन् ।
तर प्रक्रिया पालना नगरेकै आधारमा उनलाई गैरनागरिक भन्न नमिल्ने उनीहरूको तर्क छ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउन गर्नुपर्ने कानुनी प्रक्रिया पूरा नगरेको कारण राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका लामिछानेको सांसद पद खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा रिट परेको थियो। जसको आजदेखि संवैधानिक इजलासमा बहस शुरु भएको हो।
लामिछानेले अमेरिकी नागरिक त्यागे पनि कानुनी बाटो नअपनाई, पुरानै नेपाली नागरिकता प्रयोग गरेर सांसद भएकाले पद खारेज हुनुपर्ने रिट निवेदकहरूले तर्क गरेका थिए।
सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन निवेदन दिनुपर्ने सारवान व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरे।
सरकारी वकिलले भने संविधानको धारा ११ को उपधारा १ मा नेपालको नागरिकता प्राप्त गरेको र प्राप्त गर्न योग्य व्यक्ति नेपाली नागरिक हुनेछन् भन्ने व्यवस्था भएको भन्दै लामिछाने प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन योग्य रहेको जिकिर गरेका छन्।
खुल्ला प्रेस । ११ माघ २०७९, बुधबार १८:११