कृष्णप्रसाद अधिकारी
दैलेखः दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ३ को सान्तडामा बनेको १० शैयाको अस्पताल निर्माण भएको करीब ३ वर्ष पछि सञ्चालनमा आएको छ ।
अस्पताल निर्माण भए पछि भगवतीमाई गाउँपालिकाका कुनै पनि विरामीले अकालमा मृत्यु नहुन भन्ने आङ्कलन गरिरहेका गाउँपालिका बासी नागरिकहरू अस्पताल निमार्णको लामो समय सम्म सञ्चालनमा नआएपछि अस्पताल सञ्चालन नहुने हो की भन्ने निराशा थियो । गाउँपालिका स्थापना भएपछि विकासमा फट्को मारेको भगवतीमाईमा निर्माण भएको १० शैयाको अस्पताल भवन अहिले सम्म अलपत्र देखिन्थ्यो, निर्माणको करिब ३ वर्षसम्म अस्पताल सञ्चालन नहुँदा गाउँपालिकाको कार्यालय अस्पताल तर्फ गम्भीर नभएको चिन्ता व्यक्त गर्दै आएका स्थानीयहरू अस्पताल सञ्चालनमा आएपछि भने खुसी भएको बत्ताउँछन् ।
स्थानीय सरकार गठन भएको १ वर्षको अवधिमा गाउँपालिकाका सबै राजनैतिक दल नागरिक समाज, सरोकारवाला निकायसँग समन्वय गरी अस्पताल निर्माणका लागि उपयुक्त स्थान भगवतीमाई गाउँपालिका वडा नं. ३ को सान्तडा छनोट गरी अस्पताल निर्माण गरेको भए पनि अहिले सम्म अस्पताल सञ्चालनमा नआउँदा बिरामीहरूले दुःख पाइरहेको भगवतीमाई गाउँपालिका वडा नंं. ३ का नरेन्द्रराज रेग्मीले बताए ।
भगवतीमाई गाउँपालिकाले तेस्रो गाउँ सभाबाट १० शैयाको अस्पताल निर्माणका लागि ६७ लाख रुपैयाँ विनियोजन र कर्णाली प्रदेश सरकार आर्थिक तथा योजना मन्त्रालयबाट १ करोड रकम विनियोजन गरी भगवतीमाई गाउँपालिका स्थानीयको स्वास्थ्यलाई ख्याल गर्दै, दैलेख क्षेत्र नं १ (क) का नि वर्तमान प्रदेश सभा सदस्य धर्मराज रेग्मी लगायत वडा नं ३ का स्थानीयहरूले १५ रोपनी निःशुल्क दान दिएको जग्गामा आर्थिक वर्ष ०७५/०७६ को पुस मसान्तमा निर्माण कार्य सम्पन्न भएको १० शैयाको अस्पताल आर्थिक वर्ष २०७९/०८० को पुस ८ गतेबाट सेवा सुचारु गरेको छ ।

गाउँपालिकालाई अस्पताल निर्माण भएपछि औपचारिक रूपमा अस्पताल सञ्चालन गर्न विभिन्न अप्ठेरा र चुनौतीहरू आएको भगवतीमाई गाउँपालिकाका सूचना अधिकारी प्रेम बहादुर खड्काले बताए । उनले भने– अस्पताल बनेको केही समय लगत्तै कोभिड महामारीले स्थानीय तहमा आधारभूत अस्पतालको आवश्यकता र महत्त्व दर्साउँदा नेपाल सरकारको पहलमा गाउँपालिकाको केन्द्र बेस्तडामा सञ्चालनमा आएको कोभिड-१९ अस्पताललाई गाउँपालिकाले १० शैयाको आधारभूत अस्पतालमा रूपान्तरण गरी वडा नं. ३ सान्तडामा सञ्चालनमा ल्याएको छ । नेपाल सरकारबाट निर्माण गरिने १० शैयाको अस्पताल भवनको लागि गाउँपालिकाको प्रयत्न सफलता उन्मुख छ । अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न अझै थुप्रै कार्यभार बाँकी नै छ ।
आगामी दिनमा सबै पक्षको सकारात्मक सहयोग र सुझावको अपेक्षा भगवतीमाई गाउँपालिकाको कार्यालय दैलेख राख्दछ । कोभिड-१९ को विषम परिस्थितिमा पनि सहज ढङ्गले नागरिक र गाउँपालिकाको सेवा समर्पित हुनु हुने चिकित्सक एवं स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद दिँदै अस्पतालबाट गुर्णस्तरिय र प्रभावकारी सेवाको लागि भगवतिमाई गाउँपालिका कटिबद्ध रहेको गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले बताए ।




खुल्ला प्रेस । १२ पुष २०७९, मंगलवार २१:४२