‘टोल विकास संस्थाका पदाधिकारीलाई तालिम’

दैलेखः जिल्लाको भगवतिमाई गाउँपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरूलाई क्षमता अभिवृद्धि तालिम दिएको छ ।

भगवतीमाई गाउँपालिकाको आयोजना तथा नवप्रवर्तन साझेदारी कोषको आर्थिक सहयोगमा भगवतीमाई गाउँपालिका भित्रका ३८ वटा टोल विकासका पदाधिकारीहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम गाउँपालिकाको सभा हलमा सुरु गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाको अध्यक्षतामा भएको तालिम वैशाख २२ र २३ गते सञ्चालन हुने छ । तालिमको सहजीकरण वीरेन्द्रनगरपालिका सुर्खेतका वरिष्ठ अधिकृत प्रकाश पौडेलले गरेका छन् । शुक्रवार भएको कार्यक्रममा नेतृत्व विकास, टोल विकास संस्थाका काम कर्तव्य र अधिकार, बस्ती स्तरका योजना छनौट, योजना तथा कार्यक्रम कार्यान्वयन र अनुगमन, बैठक व्यवस्थापन र निर्णय लेखनका साथै बचत सङ्कलन आदि बारेमा ज्ञान दिएको भगवतीमाई गाउँपालिकाका सूचना अधिकारी प्रेम बहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नै नागरिक सहभागिता सुनिश्चित गर्दै समाजको आर्थिक, सामाजिक, सांस्कृतिक, पूर्वाधार तथा वातावरण संरक्षण र विपद् व्यवस्थापन लगायत विकासका सबै पक्षमा दिगोपना र अपनत्व सृजना गर्न टोल विकास संस्थाको भूमिकालाई सक्षम र प्रभावकारी बनाउन टोल विकास संस्थाका पदाधिकारीहरूको क्षमता विकास गरी वडा कार्यालय तथा गाउँ कार्यपालिकाको कार्यालयको सहयोगी र समन्वयकारी एक विश्वासिलो सामाजिक संस्थाको रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनु यस तालिमको मुख्य उद्देश्य रहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५