काठमाडौं: प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन्। माओवादी र कांग्रेसले हस्ताक्षर सङ्कलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन्। पछिल्लो समय उनले ‘केन्द्रको आदेशबिना सरकार नछोड्ने’ अडान राख्दै आएका थिए।
पूर्वलिखित सहमतिअनुसार कांग्रेसले वाग्मती प्रदेशको नेतृत्वमाथि दाबी गरेपछि सरकार परिवर्तनको विषय उठेको छ।
माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारीसमेत गरिरहेको बेला पाण्डे सरकारको नेतृत्व छाड्न तयार भएका हुन्। सरकार छाड्नैपर्ने अवस्था आएपछि उनले संसदीय दल बैठक बोलाएका छन्।
गत ११ कात्तिकमा मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चार मन्त्री छन्। पाण्डे नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार ६-६ महिना नेतृत्व गर्ने ‘भद्र सहमति’ भएको थियो। सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए।
बाग्मती र प्रदेश १ मा सरकारको नेतृत्वमा रहेको एकीकृत समाजवादीले नेतृत्व छाड्नुपरे अन्य प्रदेशबाट पाउनुपर्ने दाबी गरिरहेको छ। कांग्रेसले भने वाग्मतीको लिखित सहमति कार्यान्वयनमा अन्य प्रदेश जोड्न नहुने तर्क गर्दै आएको छ।
गत वर्ष कात्तिकमा वाग्मती प्रदेश सरकार निर्माण गर्दा प्रदेशसभाको कार्यकाल १६ महिना हिसाब गर्दै आधा समय एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र बाँकी समय कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने लिखित सहमति गरेको थियो। एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले २–२ प्रदेश र जनता समाजवादी पार्टी (जसपा) ले एक प्रदेशको नेतृत्व लिने सहमति भएको भन्दै वाग्मती नभए अन्य प्रदेश पाउनुपर्ने दाबी गरेको छ।
प्रदेश सरकार परिवर्तन गर्ने हो भने गठबन्धनमा सबैतिरको समीक्षा गरेर अघि बढ्नुपर्ने पार्टीको धारणा रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन्।
‘‘गठबन्धनभित्र भएको सहमतिअनुसार २–२ वटा प्रदेशको नेतृत्व गरिरहेका छौँ। परिवर्तन गर्ने हो भने पनि २–२ वटा कुन लिने भनेर गरौँ। परिवर्तन नगर्ने हो भने अहिले जे जस्तो छ त्यसलाई नै छाडिदिऔँ।’’
एकीकृत समाजवादीले वाग्मती छाड्नुपरे कर्णाली वा सुदूर पश्चिम सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ। सुदूर पश्चिम प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल हो।




खुल्ला प्रेस । १९ असार २०७९, आईतवार ०७:११