अब कक्षा १२ मा जति विषय लागे पनि मौका परीक्षा दिन पाइने

काठमाडौं: कक्षा १२ को परीक्षामा दुई भन्दा बढी विषयमा ‘नन ग्रेडेड’ प्राप्त गर्ने विद्यार्थीले पनि अब ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

बिहीबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा ‘नन ग्रेडेड’ आएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा ‘नन ग्रेडेड’ ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा भएको मन्त्रीस्तरिय निर्णयपछि अब विद्यार्थीले एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहोर्याएर परीक्षा दिन पर्ने छैन ।

दुई विषय भन्दा माथि विषयमा ‘नन ग्रेडेड’ ल्याउँदा सोही कक्षामा दोहोर्याएर पढ्न अथवा सबै विषयको परीक्षा दिने गाह्रोले कतिपय विद्यार्थी पढ्न छोड्ने भएकोले कक्षा १२ पछिको ड्रप आउट रोक्नको लागि यो निर्णय गरिएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ पछिको ड्रप आउट रोक्ने र समग्र शिक्षा प्रणालीलाई सहयोग होस् भनेर विद्यार्थी मैत्री, विद्यार्थीको सुविधालाई ध्यानमा राखेर निर्णय गरिएको स्पष्ट पारे ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरिसँगै अब दुई विषयभन्दा बढी जति सुकै विषयमा नन ग्रेडेड ल्याएमा पनि उनीहरु नन ग्रेडेड पाएका विषयमा मात्र मौका परीक्षामा सम्मिलित हुन पाउने छन् ।

यसअघि बढीमा दुई विषयमा नन ग्रेडेड प्राप्त गर्नेले मात्र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । दुई विषयभन्दा बढीमा नन ग्रेडेड प्राप्त गर्नेहरुले सबै विषयको परीक्षा दिनुपर्ने हुन्थ्यो ।

नयाँ निर्णयबाट दुई विषयभन्दा बढीमा नन ग्रेडेड प्राप्त गरेका गत वर्षका ५६ हजार विद्यार्थीलाई ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन बाटो खुला भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५