दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिकाकाका जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकासका लागि सकारात्मक सोच र सामाजिक जबाफदेहिता विषयक तालिम दिइएको छ ।
भगवतीमाई गाउँपालिकाको आयोजना, बास नेपालको सहजीकरण तथा नवप्रवर्तन साझेदारी कोष(क्ष्एँ) सुर्खेतको आर्थिक सहयोगमा भगवतीमाई गाउँपालिकामा जनप्रतिनिधि, वडा सचिव, विषयगत शाखाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक लगायत ७५ जना भन्दा बढीको सहभागितामा तालिम सम्पन्न गरिएको छ ।
‘व्यावसायिक कृषि पशुपालन र पूर्वाधार, समृद्ध भगवतीमाईको आधार’ भन्ने गाउँपालिकाको मूल नारालाई सार्थकता दिन पालिकाका कर्मचारी जनप्रतिनिधि र अन्य सरोकारवालाको क्षमता विकासको लागि तालिम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले जानकारी दिए ।
चैत्र १७ र १८मा भएको तालिमको सहजीकरण गर्दै राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सुशासन, नेतृत्व विकास, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुर्ण, स्थानीय सरकारको प्राथमिकता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन, प्रभावकारी सेवा प्रवाह, स्थानीय तहका राम्रा अभ्यासहरू, योजना तर्जुमा सिप, स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित ऐन, नियम र कानुन, सूचनाको हक लगायतका विषयमा प्रशिक्षण दिएका छन् । त्यसै गरी बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा प्रशिक्षक मन भण्डारीले सामाजिक जबाफदेहिताको औजारहरूको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रमको अन्यमा बोल्दै महिला कर्मचारी तथा जनप्रतिनिधिको तर्फबाट बोल्दै निरुता गाहाले कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताउँदै पालिकाले यस्ता तालिमहरू बेला बेलामा गरिरहन सुझाव दिइन् ।

दुई दिनको तालिमको समापन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले तालिमबाट जनप्रतिनिधि र कर्मचारीको काम कर्तव्य र भूमिकाको विषयमा स्पष्ट भएको बताए उनले भने आफूले तालिम लिएपछि आजबाटै तालिमबाट सिकेको सिकाइलाई व्यवहारमा लागु गर्न आफूले सुरु गरेको भन्दै सबैलाई व्यवहार परिवर्तन गर्न सुझाव दिए । गाउँपालिकामा गर्न नसकिने कुनै कुरा नभएकोले कुनै पनि नागरिक जाँगर चलाउनुपर्ने सुझाव दिए । कर्मचारी तथा जनप्रतिनिधिहरूले भ्रष्टाचार गर्न नहुने बताए ।
उक्त तालिममा बास नेपाल दैलेख शाखाका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो । पालिकाको तालिम सकेर काठमाडौँ फर्कने क्रममा जिल्ला शाखाले प्रशिक्षक बास्कोटा सहितको टिमलाई खादा ओढाएर बिदाइ गरेको छ ।




खुल्ला प्रेस । १८ चैत्र २०७९, शनिबार १७:५१