दैलेखः जिल्लाकाे नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदीले जनताको स्वास्थ्य अवस्था बुझ्न घरदैलो अभियान थालेका छन । अध्यक्ष छवि सुवेदीले स्वास्थ्यकर्मीको टिम सहित जनताको घर मै पुगेर सर्वसाधारणको स्वास्थ्य अवस्था बुझ्ने अभियान सुरु गरेका हुन ।
नौमुले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम गुरुङ, प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेका डाक्टर याम शर्मा, वालुवाटार स्वास्थ्य चौकी प्रमुख सन्देश चन्द, प्राथमिक स्वास्थ्य केन्द्रका प्रयोगशाला सहायक उपेन्द्र थापा लगायतका स्वास्थ्यकर्मी टिम सहित अध्यक्ष आफै जनताको घर घरमा पुगिरहेका छन ।
यसरी सुरु गरिएको अभियान नौमुलेका ८ वटै वडाका प्रत्येक टोलमा पुग्ने स्वास्थ्य शाखा प्रमुख पदम गुरुङले बताएका छन । यसरी अभियान सुरु गर्दा जनताले स्वास्थ्य सुविधा पनि घरमै पाउने र आफुले जनताका अन्य समस्याका बिषयमा पनि जानकारी लिन पाइने गाउँपालिका अध्यक्ष सुवेदीले बताएका छन ।
डाक्टर याम शर्माले उच्च रक्तचाप, मधुमेह, मृगौला रोग जस्ता अप्ठ्यारा नसर्ने रोगहरु गाउँमा धेरै मात्रामा रहेको बताएका छन । गाउँपालिका अध्यक्ष सुवेदी स्वास्थ्यको टिम सहित जनताको घरमा पुग्दा नौमुलेका जनताले साच्चिकै आफुहरुले जनताको प्रतिनिधि पाएको महसुस भएको कुरा बताएका छन्।



खुल्ला प्रेस । १३ फाल्गुन २०७९, शनिबार ०९:४६