आजदेखि खुल्ला चुनावी प्रचार, शीर्ष नेताहरू देश दौडाहामा

काठमाडौं– दलका शीर्ष नेताहरू चुनावी प्रचारका लागि देश दौडाहमा निस्कन थालेका छन्। अगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि दल तथा उमेदवारले खुला रूपमा प्रचार-प्रसार गर्न पाउने भएसँगै दलका नेताहरू देश दौडाहमा निस्कन थालेका हुन्।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ। खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरूको चुनावी दौडाहा पनि सुरु भएको हो।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिन गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा केन्द्रित हुनेछन्।

गृहजिल्ला डडेलधुरामा हुने चुनावी सभा र कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा गृहप्रदेश सुदूरपश्चिम पुगिसकेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चासहितको सत्ता गठबन्धनले संयुक्त चुनावी सभाको समेत तयारी गरेको छ। अहिले शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने र कात्तिकको अन्तिम साता संयुक्त चुनावी कार्यक्रम हुने नेताहरूले जनाएका छन्।

गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ सहित पार्टीका प्रचार कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ।

यस्तै, विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि देश दौडाहामा निस्किनेछन्। ओलीले शुक्रबार सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ।

ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टरको प्रयोग गर्नेछन्। एमालेले हेलिकोप्टरको प्रयोगका लागि निर्वाचन आयोगसँग अनुमतिसमेत लिइसकेको जनाइएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५