दैलेखमा मनाइयो १९ औँ धान दिवस

दैलेख ः  दैलेखमा १९ औँ धान दिवस भव्यताका साथ मनाइएको छ । जिल्लाको नारायण नगरपालिका वडा नं. ४ सोतमा १९औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७९ मनाइएको हो । यस वर्ष ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नारा सहित देशैभर १९ औ धान दिवस तथा रोपाई महोत्सव सम्पन्न गरिएको छ ।

कृषि विकास कार्यालय दैलेखको आयोजनामा असार १५ गते बुधवार नारायण नगरपालिका ४ सोतमा रहेका कृषकको खेतबारीमा नै पुगी धान दिवस तथा रोपाई महोत्सव गरेको जनाएको छ । कृषकलाई कृषिप्रति आकर्षित गर्न, धान उत्पादनमा वृद्धि ल्याउन रोपाई महोत्सव गरिएको हो । बुधवार स्थानीय पञ्चेबाजाको साथमा सामूहिक रूपमा धान रोपाई हेर्नेको उत्साहजनक सहभागिता रहेको थियो । कृषकले अझै पनि पुरानै प्रविधिबाट खेती गर्ने, पुरानो बिउ विजनको प्रयोग गरेर धान रोपाई गर्ने चलन कायमै रहेकाले आधुनिक प्रविधिबाट खेती गरी आर्थिक समृद्धि बढाउन धान दिवस तथा रोपाई महोत्सव कार्यक्रम आयोजना गरिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र थापाले जानकारी दिए । उनले कार्यक्रमको बारेमा बोल्दै धान दिवस मनाउनुको महत्त्व, धानको विकास क्रम तथा नेपालमा लगाउने धानको बारेमा प्रस्ट्याएका थिए ।

सृजनशील कृषक समूहका सदस्य कर्ण बहादुर कठयताको अध्यक्षतामा भएको १९ आँै धान दिवस तथा रोपाई महोत्सव २०७९ को उद्घाटन प्रतिनिधि सभा सदस्य माननीय रवीन्द्रराज शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै माननीय शर्माले नेपाली नागरिकको जीवनस्तर उकास्नको लागि नयाँ नयाँ अभ्यासहरू गर्दै जनताको जीवनस्तर बदल्ने कुरालाई हामीले ध्यान दिनुपर्ने बताए । उनले भने–राजनीतिक परिवर्तन हुन्छन् अरू परिवर्तन हुन्छन् तर किसानले दुई छाक खानाको लागि समस्या झेल्नु पर्ने अवस्था अहिले पनि रहेको भन्दै यस्ता अवस्थालाई बदल्नको लागि हामीले अनेक खालका प्रक्रिया अगाडी बढाएका छौँ यसमा सबैको साथ सहयोगको आवश्यकता रहेको छ । हामी सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, निजामाति कर्मचारी लगायत सबैले  आफ्नो घरमा रहेको खेतबारी बाँझो नराखी उत्पादन हुने खेती लगाउन तर्फ ध्यान जानुपर्छ ।

उक्त कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले हामी जति शिक्षित भए पनि कृषि नगरी नहुने भएता पनि कतिपय कुराहरू कार्यक्रममा मात्र सीमित भएकाले कार्यक्रमलाई मात्र प्राथमिकता नदिई व्यवहारिक रूपमै हामी काम गर्ने वातावरण बनाउन सक्छौ भन्ने उदाहरण दिन अग्रसर हुनुपर्ने बताए । कार्यक्रम गर्दा पनि स्थानीय तह र अन्य कार्यालयमा समन्वयको अभाव देखियो आउँदा दिनहरूमा यस्तो नगर्न आग्रह छ उनले भने ।

कार्यक्रमको समापनमा बोल्दै कर्ण बहादुर कठयताले रोपाई महोत्सवको लागि यो ठाउँ छानेर कार्यक्रम गरेकोमा कृषि विकास कार्यालयलाई धन्यवाद दिए । कृषकका खेतबारीमै आएर रोपाई महत्व गर्ने भएकोमा हामी खुसी छौ । यसरी आएर कार्यक्रम गरिदिँदा कृषकलाई पनि हौसला बढ्छ ।

दैलेखका प्राय पालिकाहरूमा  आज धान दिवस मनाइएको छ । कर्णाली प्रदेश सरकारले असार १५  धान दिवसको अवसरमा कर्णालीका ९ जिल्लामा बिदा दिने गरेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५