छ महिना सम्म पनि पाएनन मज्दुरले ज्याला

रुकुम पश्चिमः रुकुम पश्चिमको चौरजहारीमा सडक निर्माणको काममा लागेका मजदुरहरुले ठेकेदारबाट ज्याला पाएका छैनन् । चौरजहारी नगरपालिका ४ को मन्कोट देखि ५ नम्बरको खहरेसम्मको सडक खण्डमा ग्राभेल र नाला निर्माणको लागि काम गरेका मजदुरले ज्याला नपाएका हुन् ।
सडक निर्माणको लागि काम गरेका करिब ४० जना मजदुरले काम गरेको ६ महिना बितिसक्दा पनि रकम नपाएको चौरजहारी नगरपालिका ४ का अतिराम रोकायले बताए । उनका अनुसार चौरजहारी नगरपालिका ४ मन्कोटका २० जना र वडा नम्वर ७ नार्जिका २० जना कामदारले ज्याला पाएका छैनन् । सबै जनाको गरेर करिब १० लाख रुपैया पाउन बाँकि रहेको रोकायले बताएका छन् ।
पुस ९ गते देखि फागुन १७ गतेसम्म आफुले नाला निर्माणको लागि काम गरेको र हालसम्म ज्याला नपाएको उनको दुखेसो छ पटक पटक ज्यालाको लागि ताकेता गर्दा आफूलाई स्थानीय ठेकेदारले पैसा नदिई खाली चेक मात्र थमाईदिएर सम्पर्कविहिन भएको रोकायले उल्लेख गरे ।
महिना दिनसम्म घरको काम छोडेर सडकमा काम गरेर श्रमको मूल्य नपाएको अर्का मजदुर थलबहादुर भण्डारीले बताउछन् उनि बताए अनुसार आफुलाई काममा लगाउने स्थानीय ठेकेदार नारायण बुढाले पैसा नदिन सक्छु, मुद्धा हालेपनि मलाई केहि हुदैन भन्दै पन्छिने गरेको आरोप लगाए । कतिपयले दुई महिनासम्म पनि काम गरेर हालसम्म पारिश्रमिक नपाएको जानकारी दिए ।
चौरजहारी नयाँ शहर आयोजना अन्तर्गतको उक्त सडकको काम द क्याभान कन्ट्रक्सन प्रा.लि.ले पाएको थियो । उक्त कन्ट्रक्सनबाट मन्कोट खहरे सडकखण्डमा ग्रोभल र नाला निर्माणको जिम्मा पेटी ठेक्का गर्ने चौरजहारी नगरपालिका ५ बेतेनीका ठेकेदार नारायण बुढाले लिएका थिए । ज्याला माग गर्ने केहि मजदुरलाई पैसा बिनाको चेक दिएर ठेकेदार बुढा सम्पर्कविहिन भएको श्रमिकको गुनासो रहेको छ ।
चौरजहारी नयाँ शहर आयोजनाले भने उक्त काम बापतको रकम सम्बन्धित मुख्य ठेकेदारलाई भुक्तानी भैसकेको जनाएको छ । भ्याट बाहेक ३५ करोडमा चौरजहारीमा कालोपत्रे र मन्कोट – खहरे सडकखण्ड ग्राभेल र नाला निर्माणको गर्ने सम्झौता भएको थियो । कालोपत्रको काम यस वर्ष हुने तर मन्कोट–खहरे सडकखण्डको काम सकिएकोले भुक्तानी भैसकेको आयोजना कार्यालयले जनाएको छ । मुख्य ठेकेदारबाट पेटी ठेकेदार र पेटी ठेकेदारबाट कामदारले रकम पाए नपाएको जानकारी कार्यालयमा नभएको बताईएको छ ।
यस बिषयमा ठेकादार बुढालाई सम्पर्क गर्दा आफूलाई मुख्य ठेकेदार कम्पनी द क्याभान कन्ट्रक्सन प्रा.लि.ले पैसा नदिएको बताए ।
मुख्य ठेकेदारले नै रकम नदिएको हुनाले कामदारहरुलाई बेलैमा पैसा दिन नसकेको उनले स्वीकार्यका छन् । गाउँका दाजुभाई सबैको सहयोगले आफूले काम सम्पन्न गरेतापनि मुख्य ठेकेदारले आफुले पाउनुपर्ने रकम नदिएकोले कामदारलाई ज्याला दिन ढिलाई भएको बुढाले स्पष्ट पारे ।
पटक पटक द क्याभान कन्ट्रक्सन प्रा.लि.को चौरजहारीस्थित कार्यालय धाउँदा पनि आफूलाई वेवास्ता गरेको गुनासो उनको छ ।

चेक बाउन्सको मुद्धा हाल्ने तयारी

सडकखण्डमा काम गरेका कामदारहरुले पैसा नभएको चेक दिएर झुक्काएको बताएका छन् । बैंकमा पैसा निकाल्न जाँदा खातामा पैसा नै नभएकोले कानूनी प्रक्रिया अनुसार अदालत जाने मजदुरहरुको तयारी छ । श्रमको मूल्य नदिने ठेकेदार बिरुद्ध कानूनी लडाईमा जान बाध्य भएको अतिराम रोकायले बताएका छन् । तीन जनालाई खाली चेक दिएको उनको भनाई छ । मुलपाटीबाट 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५