हाम्रा बाआमालाई घर पठाइदे है चिलगाडी

दैलेख : दैलेख ठाटिकाँध गाउँपालिका–१ सिराडीका विनोद विक र हिमाल विकले बालकपनमै आमाबाबु गुमाए । २०७३ मा आमा रंगा विकको सुत्केरी हुन नसक्दा मृत्यु भयो । त्यसको तीन वर्षपछि २०७६ मा बाबु चक्रबहादुर विकले पनि जन्डिसले यो धर्ती छाडे । यी टुहुरा बालक अहिले ७५ वर्षीय हजुरबाको आश्रयमा छन् ।

आमाको मृत्युको प्रसंगले विनोदलाई बेलाबेलामा झस्काउँछ । आमाले तेस्रो सन्तान पाउने कुराले विनोद खुसी थिए । व्यथा लागेपछि आमा प्राथमिक स्वास्थ्य केन्द्रमा ठाटीकाँध पुगिन् । बच्चा उल्टो भएको भन्दै ठाटीकाँधले अन्य अस्पताल रिफर ग¥यो ।

हवाइजहाजको आवाज सुनेपछिको दुई बालकको चित्कार

अन्य अस्पताल जाने पैसा नहुँदा प्रसव पिडामा रहेकी रंगा दुई दिनसम्म स्वास्थ्य केन्द्रमै छटपटाई रहिन् । गाउँका साहु महाजनबाट ऋण बटुलेर रंगालाई दुई दिनपछि मात्र सुर्खेत अस्पताल लगियो । अस्पताल जाने क्रममा प्रदेश अस्पतालको गेटमा पुग्नेबित्तिकै उनले प्राण त्यागिन् । आमाको मृत्यु हुँदा विनोद चार वर्षका थिए भने हिमाल दुई वर्षका ।

बच्चा जन्माउन स्वास्थ्य केन्द्रमा पुगेकी आमा उतै अस्ताए पनि विनोद र हिमाललाई आमा आउने आश मरेको छैन । ‘आमा मरेकी छैनन्, उपचारमै छिन् । सन्चो भएपछि आउँछन्,’ विनोद भन्छन् ।

७५ वर्षीय हजुरबा किर्थे कामी नाबालक नातिहरूको कुराले भावुक बन्छन् । गहभरि आँसु बनाउँदै उनले भने, ‘चाडपर्वमा अरूको घरमा आमाबाबु जम्मा भएको देख्दा हाम्री आमा कहिले आउँछिन् भनेर सोध्छन् । त्यसबेला मन नै थाम्न सक्दिनँ ।’

आकाशमा हवाइजहाज उडेको आवाज सुन्नेबित्तिकै विनोद र हिमाल चिच्याउँदै भन्छन्, ‘हाम्रो बाआमालाई घर पठाइदे है चिलगाडी ।’

त्यसो त त्यस भेगमा बाबुआमा कामका लागि अन्यत्र गएपछि घरमा भएका सन्तानले उडिरहेको हवाइजहाज देखेपछि त्यही भन्छन्, ‘हाम्रो बाआमालाई घर पठाइदे है ।’

गाउँका अन्य बालबालिकाले भनेको सुनेपछि उनीहरूले पनि त्यसैको सिको गरेको हजुरबा किर्थेको भनाइ छ ।

बालकको घरनजिकै ठाटीकाँध मटटेला सडक छ । सडकमा सवारी साधनको आवाज सुन्नेबित्तिकै यी दाजुभाइ दौडेर मोटर छेउमा पुग्छन् । बसमा भएका यात्रुलाई नियालेर हेर्छन्, आफ्ना बा आमा भेटिन्छन् कि भनेर । हजुरबा किर्थे गहभरि आँसु बनाउँदै भन्छन्, ‘भगवान् पनि निष्ठुरी रहेछन् । यिनका कुरा सुनेनन् ।’

अहिले यी दुई बालकलाई खाना लाउन समस्या भएको हजुरबा किर्थेको भनाइ छ । विद्यालय त जान्छन् । न झोला छ । न त कापी कलम । शरीरमा एकसरो कपडाबाहेक अरू केही छैन । बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ । सधैं अरूको काम गरेर जीवनयापन गर्दै आएका हजुरबुबा वृद्ध भएकाले पहिले जसरी काम गर्न सक्दैनन् । सामाजिक सुरक्षाबापतको भत्ताले तीन जना परिवारको गुजारा जसोतसो चलेको हजुरबा किर्थेको भनाइ छ । याे समाचार राजधानीबाट लिएकाे हाे । 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५