दैलेखः छिमेकी युवाहरुको कुटपिटबाट नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका ५३ वर्षीय गगनबहादुर बिकको ज्यान गएको छ ।
छिमेकीका श्रीमान श्रीमति झगडा गरिरहेको ठाउँमा सम्झाउन खोज्दा गगनबहादुर माथि जाई लागेर घाइते बनाएको र उपचारको क्रममा ज्यान गएको बताइएको छ ।
गगनबहादुरलाई कसैले कुटपिट गरेका भन्ने जानकारीका आधारमा घटनास्थल पुगेर प्रहरीले घाइते अवस्थामा फेला पारेको र उपचारका लागि दैलेख अस्पताल पुर्याएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए ।
घातक हतियार लाठी समेत टाउको, छाति र ढाडमा समेत कडा चोट लागेर अत्याधिक रगत बगेको कारण घाइतेको ज्यान गएको उपचारमा संलग्न दैलेख अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् ।
बिन्ध्यवासिनीको भन्भने पुल नजिकै आफ्नो घट्टमा काम गर्दै गरेका बिकलाई छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढाले कुटपिट गरेर मसानघाट लोहोरे खोला फाल्न खोेजेको बेला स्थानीयले प्रहरीलाई खबर गरेका बताइएको छ ।
घटनामा संलग्न आरोपितहरुको खोजी भइरहेको र घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) लम्सालले जानकारी दिएकाछन् ।
मृतक गगनबहादुरका एक श्रीमति, चार छोरी र दुई छोरा छन् । उनि नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको काँडा गाउँबाट १९ वर्ष अघि भनभनेमा बस्ती सरेका थिए ।-ज्वाला सन्देश
खुल्ला प्रेस । २३ फाल्गुन २०७९, मंगलवार ०७:२८