डाक्टर र वैद्यले मलाई सताउँथे, पार्टीभित्र असाध्यै दु:खी पात्र बन्न पुगेको छु : प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आफूले असाध्यै दु:ख भोगेको बताएका छन्। आठौं महाधिवेशनबाट अध्यक्ष चुनिए पनि पदाधिकारी र कमिटीहरुलाई पूर्णता दिन सकस खेपिरहेका प्रचण्डले शनिबार नुवाकोटमा दिवंगत नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्दै त्यसको संकेत गरेका हुन्।

दुःख भोगेको कुरा बाहिर ल्याउन उनले बोगटीको सहारा लिए। ‘उहाँ (बोगटी)को निधनले नेतृत्वको हिसाबले मलाई ठूलो क्षति भयो। उहाँ नहुँदा पार्टीभित्र असाध्यै दुःख भोग्ने दुखी पात्र बन्न पुगेको छ। यस्तो अवस्थामा अपिल गर्न चाहन्छु, यो दु:खको बेलामा पोस्टबहादुरजस्तै सहज, सरल ढंगले आपसमा अन्तर्क्रिया गरेर पार्टी एकताबद्ध बनाउन पहल गरौं,’ उनले भने।

उनले डा. बाबुराम भट्टराई र मोहन वैद्य किरणले आफूलाई पार्टीभित्र सताएको पनि बताए। ‘डाक्टर र वैद्यको हालत अहिले के छ? डाक्टर र वैद्यले बेला-बेला सताउँथे। तिनीहरुको सातो खाने पोस्टबहादुर नै थिए। उहाँको निधनले आसाधारण क्षति भयो,’ उनले भने।

बोगटीले संविधान बनाउन धेरै भूमिका खेलेको समेत उनले बताए। ‘संविधानसभामा उहाँले संविधान बनाउन धेरै भूमिका खेल्नुभयो। सबैको सहयोग र सहमति जुटाउनसक्ने, सम्वाद गर्ने क्षमता उहाँमा थियो,’ उनले भने।

राष्ट्रिय एकता, लोकतन्त्र सुदृढीकरण, सामाजिक रुपमान्तरण, आर्थिक समृद्धि, सुशासनको खाँचोमा बोगटीबाट सिक्ने धेरै कुरा रहेको उनको भनाइ थियो।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५