दैलेख । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काँग्रेस दैलेखले पहिलो पटक केन्द्रीय सदस्य पाएको छ । कांग्रेस इतिहास मै पहिलो पटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य आदीबासी जनजाती महिलातर्फ सीता कुमारी राना निर्वाचित भएकी हुन् ।
आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ ७ पदका लागि ३३ जना चुनावी प्रतिस्पर्धा भएकाे थियाे । रानाले एक हजार ८ सय २६ मतसहित जीत हात पारेकी हुन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा निकट रानाको जीतले कांग्रेस दैलेखबाट पार्टी केन्द्रीय तहमा पहिलो पटक प्रतिनीधित्व भएको छ ।
केन्द्रीय सदस्यमा निर्वाचित सीताकुमारी रानालाइ यसरी चिन्न सकिन्छ ।
सीताकुमारी राना २०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा आएकी हुन् । २०३३ फागुन १५ गते दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ जन्मिएकी राना २०५० सालमा नेपाल महिला संघ दैलेखको उप–सभापतिमा चयन भएकी थिइन् ।
संघको उप–सभापतिको जिम्मेवारीमा रहेर निरन्तर सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रमा पिछडिएका वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दैै आएकी राना २०७१ मा नेपाल महिला संघ दैलेखको सभापति बनेकी थिइन् । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला अधिकारलाई मूल आदर्श मान्दै आएको नेपाल महिला संघको सभापतिको पदमा रहेर रानाले महिला अधिकारका आन्दोलनहरुको अगुवाई गर्दै आएकी छिन् ।
उनि २०६७ सालयता निरन्तर नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनीधि हुन् । हाल नेपाल महिला संघको जिल्ला सभापति रहेकी राना २०७० को संविधान सभा सभा निर्वाचन र २०७४ को प्रतिनीधि सभा सदस्य निर्वाचनमा समानुपातिक सांसदको सूचीमा थिइन् ।
उनि नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन अन्तरगर्त दैलेखबाट अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् । केन्द्रीय महाधिवेशन प्रतिनीधि निर्वाचित हुँदा रानाले दैलेख निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय अधिवेशनबाट ४ सय ३ मत प्राप्त गरेकी थिइन् ।
विगत तीन दशकदेखि सक्रिय राजनीति गर्दै आएकी राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ । उनि दैलेखको अग्रणी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको पूर्व अध्यक्ष हुन् । हाल उनि उक्त संस्थाको सल्लाहकार समिति संयोजक हुन् ।
यसबाहेक उनि सुरक्षित मातृत्व संजालको केन्द्रिय सदस्य हुन् । राना हालै नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकी रानाले समाजमा रहेका कुरिति कुसंस्कार, विकृति र विसंगति एवं बालिका तथा महिलामाथि भएका हिंसा, बलात्कार जस्ता घटनाविरुद्धका आन्दोलनहरुमा समेत अगुवाई गर्दै आएकी छिन् ।
खुल्ला प्रेस । ८ पुष २०७८, बिहीबार १९:४९