काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न नसकेको आरोप खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
२९ असारमा प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति देउवाले ८८ दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा नेपाली काँग्रेसबाट प्रधानमन्त्रीसहित १०, माओवादी केन्द्र ६, नेकपा एकीकृत समाजवादीबाट ५, जनता समाजवादी पार्टी (जसपा) ४ जना नियुक्त भएका छन् ।
योसँगै मन्त्रिपरिषले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीबाट एक एक जना गरी ३ जना राज्यमन्त्री छन् ।
नेपाली काँग्रेसबाट गृहमा बालकृष्ण खाण, सञ्चारमा ज्ञानेन्द्र कार्की, परराष्ट्रमा नारायण खड्का, रक्षामा मिनेन्द्र रिजाल, कानुनमा दिलेन्द्र बडू, खानेपानीमा उमाकान्त चौधरी र महिला तथा बालबालिका मन्त्रीमा उमा रेग्मी नियुक्त भएका छन् ।
यसअघि स्वास्थ्य राज्य मन्त्री रहेका उमेश श्रेठलाई प्रधानमन्त्रीको कार्यालय हेर्न गरी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । कानुनमन्त्रीको जिम्मेवारी पाएका सञ्चार मन्त्री बनेका छन् । यस्तै प्रधानमन्त्री देउवाले विवाद र आलोचनाकाबीच प्रधानन्यायाधीशका नातेदार गैरसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएका छन् ।
प्रधानन्यायाधी चोलेन्द्र शम्शेर राणासँग जोडिएका हमाललाई मन्त्री बनाउन लागिएको भन्दै चर्को आलोचना भएपनि देउवाले कुनै वास्ता गरेको देखिएन । काँग्रेसमा प्रदेश एकबाट तीन जना मन्त्री बनेका छन् । सुनसरीका कार्की, उदयपुरका खड्का र मोरङ रिजाल गरी तीन जना प्रदेश एकबाट मन्त्री बनेका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीबाट प्रधानमन्त्री कार्यालयमा पुगेका भोजपुरका श्रेष्ठ पनि प्रदेश एकबाटै प्रतिनिधित्व गर्छन् ।
यस्तै लुम्बिनीबाट रुपन्देही खाण, प्रदेश दुई बाट बाराका उमाकान्त चौधरी, सुदूरपश्चिम प्रदेशबाट दार्चुलाका बडू र बागमतीबाट चितवनकी रेग्मी मन्त्री बनेकी छन् । देउवा सरकारमा काँग्रेसबाट मधेसीको प्रतिनिधित्व शुन्य भएको छ ।
देउवा सरकारमा प्रमुख साझेदार दल माओवादी केन्द्र पाँच मन्त्री र एक राज्यमन्त्री बनेका छन् । जसमा उर्जामा पम्फा भुसाल, अर्थमा जनार्दन शर्मा, शिक्षामा देवेन्द्र पौडेल, भूमि सुधारमा शशी श्रेष्ठ, खेलकुदमा महेश्वरजंग गहतराज मन्त्री बनेका छन् । यस्तै शिक्षा राज्यमन्त्रीको जिम्मेवारी बोधमाया कुमारी यादवले पाएकी छन् ।
बागमती प्रदेशबाट भुसाल र श्रेष्ठ मन्त्री बनेका छन् भने कर्णालीबाट शर्मा, गण्डकीबाट पौडेल र लुम्बिनीबाट गहतराज मन्त्री बनेका छन् । काँग्रेसबाट प्रदेश एकबाट तीन मन्त्री र एक राज्यमन्त्री बन्दा माओवादीबाट भने प्रदेश एकको प्रतिनिधित्व शुन्य रहेको छ ।
देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको नवगठित नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाएको छ । एकीकृत समाजवादीबाट स्वाथ्यमन्त्री बनेका विरोध खतिवडाले सरकारको नेतृत्व गरेका छन् ।
उनीसँग सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।
एकीकृत समाजवादीमा खतिवडाले बागमती, श्रेष्ठ गण्डकी, आले सुदूरपश्चिम, झाँक्री लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्छन् । राज्यमन्त्री खापुङले प्रदेश एकबाट प्रतिनिधित्व गर्छन् । एकीकृत समाजवादीमा प्रदेश २ को प्रतिनिधित्व शून्य छ । जनता समाजवादी पार्टी (जसपा)ले ४ मन्त्री पाएको छ । संघीय मामिला मन्त्री बनेका राजेन्द्र श्रेष्ठले जसपाबाट सरकारको नेतृत्व गरेका छन् ।
उनीसँग जसपाबाट कृषिमा महिन्द्रराय यादव, भौतिकमा रेणु यादव, वनमन्त्रीमा रामसहायप्रसाद यादवले जिम्मेवारी पाएका छन् । एकीकृत समाजवादीबाट प्रदेश २ मा प्रतिनिधित्व शून्य रहँदा जसपाबाट तीन जना मन्त्री बनेका छन् । जसपाले मन्त्री बनाएका चार जनामध्येबाट श्रेष्ठले मात्र बागमती प्रदेशको प्रतिनिधित्व गर्छन् ।




खुल्ला प्रेस । २३ आश्विन २०७८, शनिबार ०१:५३