काठमाडौं: नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीलाई चुनौती दिने घोषणा गरेका भीम रावललाई एक्ल्याइएको छ। उनलाई ओली समूहले सहमतिका लागि छलफलमा पनि बोलाएको छैन।
तर, आइतबारको बन्द सत्रमा सर्वसम्मतिबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नका लागि ओली समूहले सूची तयार गरिरहेका छन्। यसमा भीम रावल सहमत नभएको अवस्थामा उनलाई बाइपास गर्ने चेतावनीसमेत दिइएको छ।
एमालेमा ओली समूहका नेता शेरबहादुर तामाङले भीम रावलले एमाले छोड्न खोजेमा एक्लै पर्नसक्ने चेतावनीसमेत दिएका छन्। तामाङका अनुसार भीम रावलसँग कुनै छलफल नभएको र छलफल गर्न आवश्यक नभएकोसमेत बताइएको छ।
उनले भने, ‘भीम रावलजीसँग यस विषयमा अहिले कुनै छलफल भएको छ। पार्टी नेतृत्वले गरेको कुरामा उहाँ यसमा एक मत हुनुपर्दछ, मेरो पनि एक मत हो, यहाँ सल्लाह गर्न कसैले कुर्नै पर्दैन।’
उनले पार्टीभित्रका सबै समूह र नेताहरुलाई चित्त बुझाएर नयाँ पदाधिकारी, केन्द्रीय सदस्य र आयोगहरूको नाम घोषणा गरिने पनि प्रस्ट पारेका छन्।
तर, नेता रावलले भने एमालेमा प्रतिस्पर्धाको राजनीतिलाई समाप्त पार्न खोजेर महाधिवेशनमा धाँधली भएको आरोप लगाएका छन्। उनले प्रतिस्पर्धालाई बन्देज लगाए महाधिवेशन बहिष्कार गर्नेसमेत बताएका छन्।




खुल्ला प्रेस । १२ मंसिर २०७८, आईतवार १९:३९