दैलेख ः सदरमुकामको बजार क्षेत्रमा शान्तिसुरक्षाका लागि जडान गरिएका आधुनिक आँखा (सिसि क्यामरा) बिरामी भएको बर्षौ भए पनि कसैले चासो दिएका छैनन् ।
सदरमुकामको शान्ति सुरक्षामा सहयोग पुग्ने उद्देश्यले जडान गरिएका क्यामारा १ बर्ष नहुँदै विग्रीएका छन् प्राकृतिक आँखाले सबै क्षेत्रको सुरक्षा एकै पटक गर्न नसक्ने भन्दै दैलेख सदरमुकामका करीब १० भन्दा बढि ठाउँमा क्यामारा जडान गरिएको थियो ।
सीसी क्यामरा बिग्रिएको बषौँ हुँदासमेत मर्मत हुन नसकेपछि बजार क्षेत्रको सुरक्षा चुनौती बढेको छ । बिग्रिएका क्यामरा हालसम्म सम्बन्धित निकायले चासो नदिएका कारण मर्मत हुन नसकेका हुन् । तत्कालीन जिल्ला विकास समिति, नारायण नगरपालिका, गैरसरकारी संस्था महासङ्घ, निर्माण व्यवसायी सङ्गठन, सुनचाँदी व्यवसायी सङ्घलगायतले क्यामरा जडान गर्न करिब १४ लाख रुपियाँको लागतमा नगर पालिकाभित्रका १० स्थानमा सीसी क्यामेरा जडान गरिएको थियो ।
सदरमुकामको बसपार्क, काँडाचौर, गणेशचोक, त्रिभुवन मावि अगाडि, डेकेन्द्र चोक, देवकोटा चोक, लोकतान्त्रिक चोक, पुरानो कारागार र दुई खम्बामा ती सीसी क्यामरा जडान गरिएको बताइएको छ । बैङ्क, वित्तीय संस्था तथा ठुल्ठूला पसलले आफ्नै लगानीमा क्यामरा जडान गरे पनि सवारी साधनको बढ्दो चापलाई ध्यान दिएर सीसी क्यामरा जडान गरिएको र ती सबै क्यामरा बिग्रिएपछि सार्वजनिक सवारीसाधनको लापरबाहीसमेत पाइएको छ ।
बजारको शान्तिसुरक्षा कायम गर्न जडान गरिएका क्यामराले आपराधिक गतिविधि रोक्न सहज बनाए पनि समयमा मर्मत नहुँदा शान्ति सुरक्षा कायम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनका अनुसार सदरमुकाममा जडान गरिएका १० वटा सीसी क्यामरामध्ये अहिले चार वटा क्यामराले मात्र काम गरेको बताए । उनले दैलेख बजारको गणेश चोक, डेकेन्द्र चोक, लोकतान्त्रिक चोक र अदालतनजिकका क्यामराले मात्र काम गरेको जानकारी दिए ।
सबै सीसी क्यामरा बिग्रिएपछि आफूहरूले ताकेता गरेर चार वटा क्यामरा मर्मत भएपनि अरू नभएको उनको भनाइ छ । नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले बजार क्षेत्रको सुरक्षाका लागि जडान गरिए पनि त्यसको नियमित अनुगमनको जिम्मा प्रहरीलाई भन्दै नगरपालिकाले प्रहरीसँग समन्वय गरेर मर्मत गर्न नगरपालिका तयार रहेको बताएका छन् ।




खुल्ला प्रेस । २६ कार्तिक २०७८, शुक्रबार १२:०९