यसरी चिन्न सकिन्छ कर्णालीका नयाँ बन्ने मुख्यमन्त्री शाहीलाई

दैलेख : कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । सत्ता साझेदार कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार माओवादी केन्द्रका महेन्द्रबहादुर शाही गएर कांग्रेसका जीवनबहादुर शाही आउने भएका हुन् ।

गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिँदा विशेष सहमतिका आधारमा कांग्रेस र नेकपा एमाले माधवकुमार नेपाल पक्षका चार जना सांसदले पार्टीको ह्वीप उलंघन गर्दै विश्वासको मत दिएका थिए ।

त्यतिबेला मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको कांग्रेसले तत्काल सरकारमा जान मानेन् । वैशाखमै माओवादीले कांग्रेससँग ११ बुँदे सहमति गरेपछि कांग्रेसले दुई सांसद यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास र दिनबन्दु श्रेष्ठलाई जलस्रोत तथा उर्जा तथा मन्त्रीको लागि सिफारिस गरेको थियो ।

कांग्रेसलाई ६ महिनापछि शाहीले मुख्यमन्त्रीको कुर्सी छोड्ने र कांग्रेसका संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्री बनाउने आन्तरिक सहमति भएको थियो । सोहि सहमती अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पक्कापक्की छ ।

को हुन् जीवनबहादुर शाही

जीवनबहादुर शाही, हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खर्पेलगाउँमा बुबा मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट वि.सं. २०२१ फागुन २० गते जन्मिएका हुन् । शाही कर्णाली प्रदेश सभामा नेपाली काँग्रेसबाट प्रत्यक्ष निर्वाचित एकमात्र सांसद हुन् । ५७ बर्षीय शाही हुम्ला प्रदेश सभा (ख) बाट निर्वाचित भएका हुन् ।

२३ बर्षको उमेरमै नेपाली काँग्रेसको जिल्ला सभापति बनेका शाही हुम्ला काँग्रेसको संस्थापक सभापति हुन् । उनि २०४६ देखि २०६२ सम्म निरन्तर सभापति भएका थिए । नेपाली काँग्रेसको ११ औँ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित भएका शाही तीन कार्यकालदेखि नेपाली काँग्रेसको केन्द्रिय समितिमा छन् ।

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित भएका शाही २०७३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी तथा सरसफाई मन्त्री समेत बनेका थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनले विद्यालय तहको पढाई बुढानीलकण्ठ स्कुलबाट पुरा गरेका थिए । अमेरिकामा पाइलट कोर्स गरेका शाहीसँग एक बर्ष पाइलट पेशाको समेत अनुभव छ ।

शाहीले बिभिन्न ३० वटा देशको भ्रमण गरेका छन् । उनले अमेरिका, रुस, चीन, भारत, अष्ट्रेलिया, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटली, बेल्जियम, स्विट्जरल्याण्ड, स्पेन, बंगलादेशको भ्रमण गरेका छन् । त्यस्तै भुटान, मलेसिया, जोर्डन, इजरायल, इजिप्ट, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, जापान, ब्राजिल, कोलम्बिया, इण्डोनेसिया, सिंगापुर, नेदरल्याण्ड, फिनल्याण्ड, पोल्याण्ड गरी ३० देशको भ्रमण गरेका छन् । उनले नेपालका ७७ वटै जिल्लाको भ्रमण गरेका छन् । शाहीले २०४६ मा १५ दिन र २०६२/०६३ मा ३ महिना जेल जीवन बिताएका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५