‘चुनावपछि एमालेको हालत नोकियाजस्तै हुन्छ’ इकागज

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाको फोनजस्तै हुने दाबी गरेका छन् । शनिबार काठमाडौंको शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् ।

 ‘चुनावपछि एमालेको हालत नोकियाको फोनजस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन् । त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन्,’ चौधरीले प्रश्न गरे, ‘केपी ओलीले फेरि चुनाव जित्छ भन्नु बेकारको कुरा हो । ओलीको पार्टीले फेरि जनतासँग भोट माग्ने नैतिकता छैन । ओली जत्तिको अक्षम व्यक्ति कोही छैन । के अब फेरि ओलीलाई भोट दिने ? फेरि किन संसद् विघटन गर्ने ?’

चौधरीले चुनावबाट समाजवादी देशको पहिलो र शक्तिशाली पार्टी बन्ने तर्क गरे । ‘चुनावपछि हाम्रो पार्टी देश सञ्चालन गर्नसक्ने पार्टी बन्छ । समाजवादीको भविष्य छैन भन्नेलाई जवाफ दिएका छौं । दुई महिनाको अवधिमा ७ सय ५३ स्थानीय तहका वडामा पार्टी स्थापित भएको छ,’ उनले भने, ‘पुरानो पार्टीले मात्रै चुनाव जित्छ भन्नु बेकार हो । त्यो हो भने कांग्रेसले किन पटकपटक चुनाव हारेको छ ?’

चौधरीले पार्टी विभाजन गरेर कम्युनिस्ट आन्दोलन बचाएको तर्क गरे । ‘पार्टी विभाजन नगरेको भए कम्युनिस्ट आन्दोलन समाप्त हुन्थ्यो । हामीले संविधान बचाएका छौं । कम्युनिस्ट आन्दोलन सकिनुभन्दा विद्रोह सही छ । कानुनी राज्य स्थापना गर्ने काम गरेका छौं,’ उनले भने । समाजवादीले शंखरापुरमा श्याम वाइवाको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी घोषणा गरेको छ । युवा संगठनको नगर कमिटी पनि घोषणा गरेको छ । समाजवादीले ९ वटै वडामा संगठन विस्तार गरेको अध्यक्ष वाइवाले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५