फोर्स गाडी दुर्घटना: गाडीमा सवार पाँच यात्रुकाे विवरण खुल्यो खाेजी कार्य जारी

दैलेख प्रहरीले कर्णाली नदीमा खसेकाे फाेर्स गाडीमा सवार पाँच यात्रुकाे विवरण सार्वजनिक गरेकाे छ ।

बिहीबार जिल्लाकाे चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको थियो ।

घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालकसहित पाँच जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा जवे टिका (जिल्ला कालीकोट, पलाँता गाउँपालिका– १) को शव फेला परेको छ । आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा सवार रहेकाहरूमा चालक तुलाराम सुवेदी र सह–चालक रामप्रसाद सुवेदी (दुवै सुर्खेतको पञ्चपुरी नगरपालिका– ८), सिर्जना बुढा (रास्कोट नगरपालिका– २, कालीकोट), मेखे तिरुवा र जेखे तिरुवा (दुवै पलाँता गाउँपालिका– १, कालीकोट) रहेका छन् ।

प्रहरीले गाडीमा अन्य यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको जनाएको छ । साथै, सम्भावित स्थानहरूमा खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

नदीमा खसेकाे गाडी खाेज्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जना गोताखोर टोली घटनास्थलमा खटिएर खाेजीकार्य गरिरहेकाे छ । महेश्वरी बाहिनीका प्रहरी उपरीक्षक करणसिंह धामीका अनुसार कर्णाली नदीको पानी अत्यधिक धमिलो रहेकाले उद्धारमा समस्या भइरहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५