कर्णालीमा हालसम्म करिब ३०२ किलोमिटर सडक कालोपत्रे

सुर्खेत: कर्णाली प्रदेश सरकारले हालसम्म करिब ३०२ किलोमिटर सडक कालोपत्रे, पक्की तथा पेभमेन्ट गरेको जनाएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार उक्त प्रगति विभिन्न आर्थिक वर्षमा गरिएको निर्माण कार्यको समग्र उपलब्धि हो ।

आर्थिक वर्ष २०८१/८२ सम्म २४९.५८ किलोमिटर सडक कालोपत्रे भइसकेको थियो भने चालु आर्थिक वर्षको चैत मसान्तसम्म थप ५३.२६ किलोमिटर सडक कालोपत्रे गरिएको छ । चालु आर्थिक वर्षमा १६१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिए पनि नौ महिनामा ५३.२६ किलोमिटर मात्र प्रगति भएको छ । बाँकी तीन महिनामा १०७.७४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए ।

मन्त्रालयका अनुसार हुम्ला जिल्लामा हालसम्म कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन । कर्णालीका १० जिल्लामा ७७४.७१ किलोमिटर सडक ग्राभेल गरिएको छ । आर्थिक वर्ष २०८१/८२ सम्म ७१३.६५ किलोमिटर ग्राभेल गरिएकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म थप ६१.०६ किलोमिटर ग्राभेल गरिएको छ । चालु आवमा १३९.७० किलोमिटर ग्राभेल गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी, हालसम्म ३ हजार २७६.४४ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा ११३.९८ किलोमिटर सडक ट्र्याक खोलिएको छ भने असार मसान्तसम्म १८४ किलोमिटर लक्ष्य राखिएको थियो । साथै, सडक स्तरोन्नति, नाला निर्माण, ग्याबिन तथा टेवा पर्खाल निर्माणलगायत ७५४.५९ किलोमिटर क्षेत्रमा काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १५१ वटा झोलुंगे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १२५ वटा निर्माण भएकामा चालु आर्थिक वर्षको नौ महिनामा २६ वटा थपिएका छन् । चालु आवमा ६३ वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो । सुर्खेतमा चार, दैलेखमा सात, रुकुम पश्चिममा एक, जाजरकोटमा एक, डोल्पामा चार, जुम्लामा चार, मुगुमा दुई र कालिकोटमा तीनवटा झोलुंगे पुल निर्माण भएका छन् ।

त्यस्तै, हालसम्म ६२ वटा सडक पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ५३ वटा निर्माण भएकोमा चालु आवमा थप ९ वटा निर्माण भएका हुन् । चालु आवमा ४४ वटा सडक पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो । सार्वजनिक भवनतर्फ हालसम्म २६ वटा भवन निर्माण भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १९ वटा निर्माण भएकोमा चालु आवमा सात वटा थपिएका हुन् । मन्त्रालयले असार मसान्तसम्म ५१ वटा भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।

जनता आवास (संघ) कार्यक्रमअन्तर्गत हालसम्म ३ हजार ५६८ वटा घर निर्माण भएका छन् भने चालु आवमा ३८ वटा थपिएका छन् । प्रदेशतर्फ ७३६ वटा आवास निर्माण भएकोमा चालु आवमा ३० वटा निर्माण भएका छन् । विपन्नको घर कार्यक्रम अन्तर्गत हालसम्म ६५२ वटा घर निर्माण भएका छन् भने चालु आवमा ३२ वटा निर्माण भएको सुवेदीले जानकारी दिए ।

प्रदेश सरकारले यही आर्थिक वर्षभित्र कर्णालीलाई तुइनमुक्त घोषणा गर्ने लक्ष्य राखे पनि हालसम्मको प्रगति हेर्दा लक्ष्य पूरा नहुने देखिएको छ । ६३ स्थानमा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहे पनि हालसम्म २६ वटा मात्र निर्माण भएका छन् । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार क्षेत्रमा ११ अर्ब ४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर कुल बजेटको करिब ७० प्रतिशत अघिल्ला वर्षका दायित्वमा सीमित रहेको छ भने नयाँ आयोजनाका लागि ३० प्रतिशत मात्र विनियोजन गरिएको छ ।

मन्त्रालयले चालु आवमा सडक, पुललगायत ५१२ नयाँ आयोजना छनोट गरेको भए पनि सबै आयोजना कार्यान्वयनमा जान सकेका छैनन् । प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले अधिकांश पूर्वाधार आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताए । उनका अनुसार केही आयोजनाको प्रगति सन्तोषजनक भए पनि अधिकांशको भौतिक तथा वित्तीय प्रगति कमजोर छ । यसैबीच, अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण क्षेत्रमा समस्या देखिएको मन्त्रालयले जनाएको छ ।

इरानमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि भई निर्माण सामग्री अभाव हुँदा काम प्रभावित भएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार आरसीआईपी परियोजनाअन्तर्गत यस वर्ष ३९ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहे पनि हालसम्म १६ किलोमिटर मात्र प्रगति भएको छ । बाँकी अवधिमा अधिकतम १० देखि १६ किलोमिटरसम्म मात्र थप प्रगति हुने सम्भावना रहेको उनले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५