काठमाडौँः चन्द्रागिरी नगरपालिका–१, थानकोट नजिक दहचोकबाट १५ बर्षका एक किशोर सम्पर्क विहीन भएका छन् । कात्तिक २५ गते आइतबार बिहान नौ बजे विद्यालय जान भनी दहचोकस्थित ठूलाबुबा प्रकाशराज रेग्मीको घरबाट विद्यालय पोशाकमा हिंडे पनि विद्यालय नगई सम्पर्क विहीन भएका हुन् ।
विद्यालय समय सकिएपछि पनि घर नफर्किएपछि परिवारजनले खोजी गरेका थिए । दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहलतोली घर भई हाल सुर्खेतमा बस्तै आएका मणिराम रेग्मीका एक मात्र छोरा दिनेश दुई वर्षदेखि काठमाडौं दहचोकमा ठूलाबा प्रकाशराज रेग्मीको घरमा अध्ययन गर्न बस्दै आएका थिए ।
काठमाडौंको थानकोटस्थित मंगलोदय माविमा कक्षा ९ मा अध्ययनरत दिनेश गहुँगोरो वर्ण, पातलो जिउको छन् । दिनेशका बुबा मणिराम रेग्मी बैदेशिक रोजगारीमा हुनुहुन्छ । दिनेशकी आमा कमला र कक्षा ६ मा पढ्दै गरेकी बहिनी श्रृष्टि सुर्खेतमा बस्तै बस्दै आएका छन् ।
क्रिकेट खेलमा ज्यादै रुची राख्ने दिनेश आफ्नो उमेर समूहका दौंतरी साथीहरुसंग लुकीछिपी बसेको हुनसक्ने अनुमान गरिएको छ ।
खुल्ला प्रेस । २८ कार्तिक २०८१, बुधबार ०७:५३