बढ्दो बालविवाह न्यूनीकरणका लागि दैलेखमा बुझाइयो ज्ञापन -पत्र

दैलेख प्रहरी प्रमुखलाई संयुक्त अपिल बुझाउदै गैसस महासंघ दैलेखका अध्यक्ष डिल कुमारी चन्दः फोटाे हिक्मेन्द्र बिश्वकर्मा

दैलेख: बढ्दो बालविवाह र बालिकामाथि हुने यौन हिंसाका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै विभिन्न सङ्घ-संस्था र अभियन्ताहरूले दैलेखका प्रहरी प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन्।

गैसस महासंघ दैलेख, नेपाल पत्रकार महासंघ दैलेख, सोसेक नेपाल, बार एसोसिएसन, बालविवाह विरुद्धको साझा अभियान सञ्जाल, महिला सशक्तीकरण मञ्च, वाल हेल्पलाइन,बास नेपाल दैलेख लगायतका १२ संस्था र सरोकारवालाहरूको संयुक्त टोलीले सोमबार प्रहरी कार्यालयमा पुगेर पछिल्लो समय बढ्दै गएका घटना न्यूनीकरण गर्न रोकथाम, अनुसन्धान र न्याय सुनिश्चित गर्न माग गरेका हुन्।

एक दर्जन बढिले हस्ताक्षर गरेको सार्वजनिक अपिलमा जिल्लाका विभिन्न गाउँमा साउन २०८२ महिनाभरमा मात्रै पाँच वटा बलात्कारका उजुरी दर्ता भएका छन्। तीमध्ये चार जना पीडित बालिका हुन् र तीन जना १६ वर्षभन्दा कम उमेरका छन्। पीडित तीन जना बालिकाले बलात्कारपछि बच्चा जन्माएका छन्।

मुलुकी अपराध संहिता २०७४ को दफा 219 को उपधारा (२) अनुसार १८ वर्षभन्दा मुनिका बालिकासँग मन्जुरी लिएर गरिएको करणीलाई पनि बलात्कारकै रूपमा परिभाषित गरिएको छ। कानुनी व्यवस्था भए पनि पछिल्ला घटनाले बालिका अझै असुरक्षित रहेको देखाएको सरोकारवालाहरूको भनाइ छ।

यसअघि पनि यस्ता जघन्य अपराधमा आरोपितलाई बचाउन, अदालतमा साक्षीलाई होस्टाइल गराउनेजस्ता गतिविधि हुने गरेको भन्दै सङ्घ-संस्थाहरूले पीडितको न्यायका लागि सामुदायिक तत्परता बढाउन आग्रह गरेका छन्।

संयुक्त अपिलमा भनिएको छ- “आरोपितको बचाऊ भन्दा पीडितको न्यायलाई प्राथमिकता दिनुपर्छ। अनुसन्धान, अभियोजन र अदालती प्रक्रियामा सहयोग पुग्दा मात्र पीडितले न्याय पाउने र समाजमा शान्ति–सुरक्षा प्रवर्द्धन हुने छ।”

संयुक्त अपिल पत्र बुझ्दै प्रहरी प्रमुख गणेश बहादुर बरालले प्रहरीले मात्र नभई  यस्ता घटनाको न्यूनीकरण गर्न सबैको पहल हुन जरुरी रहेको बताए। उनले गाउँ गाउँमा अभियान सञ्चालन गर्न  तिनै तहका सरकार, सङ्घ-संस्था नागरिक समाज लागे मात्र यसको न्यूनीकणमा सहयोग पुग्ने धारण राखे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५