आगामी वर्षको बजेट कार्यान्वयन गर्न गृहकार्य सुरु

काठमाडौं: अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । नीति तथा कार्यक्रम, बजेट र लक्ष्यबीच तादम्यता मिलाइ कार्ययोजना बनाएर कार्यान्वयन गर्न गृहकार्य सुरु भएको हो ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी अघि बढाउन निर्देशन दिए । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।

मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रकृया अघि बढाउन थप ऐन कानुन जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भएअनुसार खरिद प्रकृया अघि बढाउँदा हुने धारणा व्यक्त गरे । बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो ।

बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमको सम्वन्धमा रकमान्तरलगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताए । उनले स्रोत सहमति भएका र कागजात पुरा भएका आयोजना तथा कार्यक्रमको सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारको दिन पनि काम गर्ने बताए ।

प्रकृया पुगेका र हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवलाई उनले अनुरोध गरे । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल स्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालयलगायतका सचिवहरुको उपस्थिति थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५