दैलेख: दैलेखमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम सहित भव्य रूपमा मनाइएको छ । बुधवार दैलेखका धेरै स्थानीय तहले ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार भन्ने नारा सहित दिवस मनाएका हुन् ।
भगवतीमाई गाउँपालिकाले विभिन्न साझेदार संस्थाको सहयोगमा पालिकामै अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम राखेको थियो । भगवतीमाई गाउँपालिका बेस्तडामा भएको कार्यक्रमको प्रभात फेरी सँगै अन्तरक्रिया कार्यक्रमका गरेको भगवतीमाई गाउँपालिका उपाध्यक्ष मिना खड्काले जानकारी दिइन् । उनका अनुसार भगवतीमाई गाउँपालिका भित्र काम गरिरहेका साझेदार संस्था सोसेक नेपाल, वाम, एकता फाउन्डेसन, सी.वि.ओ.दैलेख, नेपाल रेडक्रस लगायत संस्थाको समन्वयमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । पालिकाको सभा हलमा भएको कार्यक्रममा महिला तथा बालबालिका हक हितको तथा बालविवाह न्यूनीकरण गर्नेको लागि के कस्ता कार्यक्रम अघि सारिएको छ, सोसेक नेपाल तथा बाल हेल्पलाईन १०९८ बाट के कस्ता कामहहरु भइरहेका छन् । भन्ने बारेमा सोसेक नेपाल दैलेखका बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठ र कार्यक्रम निर्देशक दुर्गा गिरिले प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रमको अतिथिको रूपमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले आजको दिन यहाँहरूलाई सम्झिने दिन, कानुन पैरवी गर्ने दिन हो । यहाँ उपस्थित हामी ५ वर्षलाई सेवा गर्छौ भनेर आएका छौँ, हामीले सिक्नु पनि पर्छ अरूका कुरा पनि सिक्दै जानुपर्छ । यसको लागि सहजीकरण गरिदिनुभएकोमा सोसेकलाई विशेष धन्यवाद दिन चाहन्छु । महिलाका विषयमा धेरै परिवर्तन भएका छन् कानुनी रूपमा भएका प्रयासले अहिलेका दिदी बहिनीहरू काम गर्ने ओहोदा पुगेका छन् महिलाहरुलाई हामीले संरक्षण गर्नुपर्छ । काम गर्ने शैलीमा पनि हामी चनाखो हुनुपर्छ ।
अन्तरक्रिया कार्यक्रम समापनमा बोल्दै गाउँपालिका उपाध्यक्ष मिना कुमारी खड्काले भनिन्– महिला दिदिबहिनिहरु आफै हिंसा गरिरहेका छौँ, हिंसामा परेका छौँ । यो महिला दिवस ११३ औँ सम्म पुग्दा पनि हामी त्यही ठाउँमा छौ, चेतनाको विकास र वृद्धि हुनबाट वञ्चित भएका छौँ, कतिपय दिदिवहिनीहरु राजनीतिक आस्थाका कारण यो दिवसमा सहभागी हुनुभएन महिलाका सवालमा राजनीति नगर्न अनुरोध गर्दछु । भन्दै कार्यक्रमका समन्वय, सहजीकरण तथा उपस्थित सम्पूर्णलाई धन्यवाद दिइन् ।
गाउँपालिकामा बालविवाह हुन नदिनको लागि सोसेक नेपाल दैलेखको आयोजना तथा गाउँपालिकाको समन्वयमा पालिकाका ७ वटै वडामा चेतनामूलक सडक नाटक ‘पुतलीको बिहे’ देखाइएको छ । बुधवार गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रम करिब २ सय जनाको सहभागिता रहेको थियो । समाजमा विद्यमान रूपमा रहेको बालविवाह अन्त्य गर्नको लागि सोसेक नेपाल द्वारा सञ्चालित बाल संवेदनशील स्पन्सिप प्रोग्रामले ‘पुतलीको बिहे’ देखाएको छ । यसले बालविवाह न्यूनीकरण गर्न धेरै सहयोग पुग्ने सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए ।
महिला दिवसमा सम्मान सहित पुरस्कृत

भगवतीमाई गाउँपालिकाले लामो समय सम्म स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका ७ जनालाई महिला दिवसको अवसरमा सम्मान सहित पुरस्कृत गरेको छ । गाउँमा पहिले देखि स्वयंसेवा गरिरहेका एक वडाबाट एक जना गरी ७ वडाका ७ जना महिला स्वयमसेविकाहरुलाई पुरकार वितरण गरेको हो । बुधवारको कार्यक्रममा २७ वर्ष लामो सेवा गर्ने रुम स्वास्थ्य चौकीका स्वयंसेविका इन्द्रा देवी साहीलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले गाउँका दिदिवहिनीहरुलाई सचेत बनाउन तपाईँहरूको भूमिका महत्त्वपूर्ण रहेका बताए ।
पुरस्कार पाउनेमा पागनाथ स्वास्थ्य चौकीका पदमकला थापा, रुम स्वास्थ्य चौकीका इन्द्रादेवी शाही, मेहल्तोलि स्वास्थ्य चौकीका अमृता खड्का, जगनाथ स्वास्थ्य चौकीका मानकवारा थापा, कट्टी स्वास्थ्य चौकीका मनसरा चन्द, वडा भैरव स्वास्थ्य चौकीका भुवानी कामी र सामुदायिक स्वास्थ्य इकाई चिपिनका तारा खत्री रहेका छन् । उनीहरूलाई रु ५ हजार नगद सहित सम्मान गरिएको छ ।
यस्तै मानव अधिकार रक्षक दैलेखले पनि लामो समय काम गरिरहेका ३ जनालाई प्रमाण पत्र सहित सम्मान गरेको छ ।



खुल्ला प्रेस । २५ फाल्गुन २०७९, बिहीबार ०८:३२