कृष्णकमल अधिकारी
दैलेख: भगवतीमाई गाउँपालामा हुन लागेको खेलकुद महोत्सवको तयारी पुरा भएको छ । ‘‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ भगवतीमाई गाउँपालिकामा खेलकुद महोत्सव २०८१ सञ्चालन गर्ने तयारी गरिएको छ ।
भगवतीमाई गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा कार्तिक ७ गते देखि ११ गते सम्म अन्तर पालिका स्तरीय खेलकुद महोत्सव हुने खेलकुद विकास समितिका अध्यक्ष शमशेर खड्काले जानकारी दिएका छन् ।
भगवतीमाई गाउँपालिका प्रवर्द्धक रहेको खेलकुद महोत्सवको बारेमा खुल्लाप्रेसलाई जानकारी दिँदै जिल्लामा अहिले सम्मकै बढी पुरस्कार राशि राखिएको उनको भनाई छ, मुख्य दुई विधामा सञ्चालन हुने खेलकुदमा खुल्ला पुरुष भलिबल तर्फ प्रथम पुरस्कार तिन लाख रुपैयाँ राखिएको आयोजकले बताएको छ ।
विजयादशमी तथा शुभ दिवपालिको पावन अवसरमा खेलको संरक्षण एवं प्रवर्धन गर्नेको लागि जिल्लामा अहिले सम्मकै ठुलो पुरस्कार धनराशि रहेको खेल महोत्सवको तयारी पुरा भएको छ । कर्णाली प्रदेशका सामाजिक मन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्ने महोत्सवका खेलकुद कार्यक्रममा सहभागिताको लागि ७५३ वटै पालिकाहरूलाई खुल्ला रूपमा आमन्त्रण गरिएको थियो जस अन्तर्गत कार्तिक ५ गते सम्म ११ वटा टिम दर्ता भएका छन् । प्राय जिल्लामा सजिलै खेलाइने खेल तथा नेपालको राष्ट्रिय खेल भएकाले भलिबललाई प्राथमिकता दिए पनि सँगसँगै अन्य खेलकुदका कार्यक्रम पनि सञ्चालन गरिने खेलकुद समितिले जनाएको छ । प्रतियोगी टिमले खेलाडीको क्षमता विकास र खेलको स्तरोन्नति गर्नका लागि आफ्नो पालिका बाहेकका राष्ट्रिय स्तरका ३ जना खेलाडीहरूलाई आफ्नो टिममा सामेल गर्न पाउनेछन् ।
खेलकुद महोत्सवबाट खुल्ला पुरुष भलिबल तर्फ प्रथम स्थान हासिल गर्नेले ३ लाख नगद मेडल,कप र प्रमाण पत्र पाउने छन् । दृतिय स्थान हासिल गर्नेले १ लाख ५० हजार नगद मेडल,कप र प्रमाण पत्र तृतीय हुने दुई टिमले ५०/५० हजार नगद मेडल, कप र प्रमाण पत्र पाउने जानकारी छ । उत्कृष्ट बिधातर्फः सर्वोत्कृष्ट खेलाडीले २५ हजार , वेस्ट स्पाईकले १० हजार, वेस्ट सटर १० हजार, वेस्ट मीड व्लकरलाई १० हजार, वेस्ट लिवेरोलाई १० हजार वेस्ट कोचलाई १० हजारको व्यवस्था गरिने छ । सटफुट (छेलो)तर्फ प्रथम पुरस्कार १० हजार, दृतिय पुरस्कार ६ हजार तृतीय पुरस्कार ३ हजार ५ सय राखिएको छ ।
खेलकुद महोत्सवको लागि स्थानीय तथा अन्य खेलप्रेमीहरुले आर्थिक तथा भौतिक रूपमा सहयोग गर्ने क्रम बढिरहेकोले कार्यक्रमलाई सफल बनाउन सहज हुने देखिन्छ । जिल्लाकै ठुलो पुरस्कार राशिको खेलकुद कार्यक्रम, भगवतीमाई गाउँपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको मिनी रङ्गशालामा नगरिएको गुनासो स्थानीयले गरेका छन् । यता खेलकुद विकास समितिले भने पानी बत्तीको समस्या, दिनमा हावाको कारणले भलिबलका खेल गर्न समस्या हुने भएकोले त्यहाँ भलिबलका खेल कार्यक्रम नगरिएको जनाएको छ । सटफुट भने रगंशालामै गरिने खेलकुद विकास समितिले जनाएको छ ।
खुल्ला प्रेस । ६ कार्तिक २०८१, मंगलवार ०८:५३