दैलेखः भगवतीमाई गाउँपालिका–३ मेहेल्तोली र वडा नं- ४ जगनाथलाई जोड्ने तुर्सु खोलामा स्थायी पुल निर्माण नहुँदा स्थानीयवासीले ठुलो जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । वर्षायाममा यात्रु र सवारीसाधनले हरेक दिन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षायाममा खोलामा पानिको बहाब बढी हुने हुँदा यात्रामा सहजता छैन । आकस्मिक बिरामीलाई अस्पताल पुर्याउनसमेत कठिनाइ हुने गरेको स्थानीयको गुनासो छ।
स्थानीय पदम बहादुर खड्काका अनुसार वर्षाको समयमा खोला उर्लिएपछि मोटरसाइकल खोलाको दुवै किनारमा राखेर पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा एम्बुलेन्स गाउँसम्म पुग्न नसक्ने भएकाले बिरामीलाई समयमै उपचारका लागि सान्तडा अस्पताल लैजान समस्या हुने गरेको उनको भनाइ छ विद्यालय जाने बालबालिकासमेत जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य छन्।
यस्तै भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काले तुर्सु खोलामा प्रत्येक वर्ष अस्थायी काठको पुल (लाप्का) राख्ने गरिए पनि वर्षा सुरु भएपछि बाढीले बगाउने वा कुहिने समस्या दोहोरिने गरेको बताए । स्थायी समाधानका लागि फलामको ट्रस पुल निर्माण गर्ने उद्देश्यले करिब साढे सात लाख रुपैयाँको प्राविधिक लागत अनुमान तयार गरिएको भए पनि योजना कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। गाउँपालिकासँग पटक-पटक पहल गरे पनि अपेक्षित काम अघि नबढेको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले पुल निर्माणका लागि बजेट विनियोजनको प्रयास भए पनि योजना कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरे । प्राविधिक लागत अनुमान तयार भए पनि विभिन्न कारणले निर्माण प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।
गाउँपालिकाका अनुसार सङ्घीय सरकारअन्तर्गत स्थानीय पूर्वाधार कार्यक्रममार्फत करिब एक करोड रुपैयाँ बजेट आउने चर्चा भए पनि हालसम्म त्यससम्बन्धी निर्माण प्रक्रिया सुरु भएको छैन। विपद् व्यवस्थापन शीर्षकबाट ट्रस पुल निर्माण गर्ने सम्भावना पनि अन्तिम समयमा बजेट घटाइएपछि टरेको छ ।
यता गाउँपालिकाकै एक कर्मचारीले पुल निर्माणमा कमिशन र बार्गेनिङका कारण ढिलाइ भइरहेको संकेत गर्दै सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी सार्वजनिक गरेपछि विषय थप चर्चामा आएको छ। यद्यपि उक्त आरोपबारे गाउँपालिकाले औपचारिक धारणा सार्वजनिक गरेको छैन।
स्थानीयवासीले हरेक वर्ष अस्थायी उपायमा सीमित नभई तुर्सु खोलामा स्थायी पुल निर्माण गरी सुरक्षित आवतजावतको व्यवस्था गर्न सम्बन्धित निकायसँग सामाजिक संजालमा बिरोध गरेर छिटो पुल बनाउन माग गरेका छन्।




खुल्ला प्रेस । २२ श्रावण २०८३, शुक्रबार १८:०९