कर्णालीको कुल अर्थतन्त्र २ खर्ब ५६ अर्ब, राष्ट्रिय आयमा ४.१९ प्रतिशत योगदान

सुर्खेतः कर्णाली प्रदेशको समग्र अर्थतन्त्रको आकार २ खर्ब ५६ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय सुर्खेतले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को प्रादेशिक लेखा अनुमानमा कर्णालीको  समग्र अर्थतन्त्रमा झिनो सुधार भएको देखाइएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब सात अर्ब हुने अनुमान गरिएकोमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन झण्डै २ खर्ब ५६ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कर्णालीको कुल ग्रार्हस्थ उत्पादन दुई खर्ब ४५ अर्ब रहने संशोधित अनुमान थियो ।

चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले  समग्र राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ४.१९ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कर्णालीले ४.२९ प्रतिशत योगदान पुर्‍याएको थियो । यस्तै, चालु आर्थिक वर्षमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.७४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्षमा उत्पादनको वृद्धिदर ३.२६ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१.५० प्रतिशत) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन् क्षेत्र (०.१७ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र (३०.१ प्रतिशत) सहित अग्रस्थानमा हुने अनुमान थियो । गत वर्ष पनि खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१७ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ । कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै यातायात तथा भण्डारण क्षेत्र (१०.४५ प्रतिशत) को र सबैभन्दा कम खानी तथा उत्खनन् क्षेत्र (१.८५ प्रतिशत) को हुने प्रारम्भिक अनुमान गरिएको तथ्यांक समन्व्य कार्यालय सुर्खेतका तथ्यांक अधिकृत केशरबहादुर ओलीले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै आवास तथा भोजन सेवा (२१.७ प्रतिशत), र सबैभन्दा कम (–१.१६ प्रतिशत) निर्माण क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ ।

राष्ट्रिय आयमा ४.१९ प्रतिशत योगदान

आर्थिक वर्ष २०८१/८२ मा  समग्र राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब सात अर्ब हुने अनुमान गरिएकोमा कर्णाली प्रदेशले चार.१९ प्रतिशत योगदान पुर्‍याउने अनुमान छ । यो अन्य प्रदेशको तुलनामा राष्ट्रिय आयमा कर्णालीले पुर्‍याउने योगदान कम हो । बागमती प्रदेशले राष्ट्रिय आयमा ३६.५२ प्रतिशत, कोशी प्रदेशले १५.९० प्रतिशत, लुम्बिनी प्रदेशले १४.२३ प्रतिशत, मधेश प्रदेशले १३.१६ प्रतिशत, गण्डकी प्रदेशले ८.९८ प्रतिशत र सुदुरपश्चिम प्रदेशले ७.३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सिमान्त रूपमा मात्र परिवर्तन भएको छ । गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको योगदान सिमान्त रूपमा घटेको छ भने मधेश र बागमती प्रदेशको योगदान सिमान्त रूपमा बढेको छ ।

आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेश (५.५१ प्रतिशत) छ । दोस्रोमा बागमती प्रदेशको उत्पादको वृद्धिदर ५.१८ प्रतिशत छ । यस्तै, सबैभन्दा थोरै वृद्धिदर सुदूरपश्चिम प्रदेश (३.३२ प्रतिशत) हुने प्रारम्भिक अनुमान छ ।

स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ । आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक अनुमान, आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० को अन्तिम तथ्याङ्क बमोजिमको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर विश्लेषण तथ्यांक कार्यालयले गरेको छ । जसअनुसार आर्थिक वर्ष २०७९/८० देखि आर्थिक वर्ष २०८१/८२ सम्मको अवधिमा सबै प्रदेशको आर्थिक वृद्धिदर क्रमशः वृद्धि हुदै गएको देखिन्छ । यद्यपि, आर्थिक वर्ष २०८०/८१ बाट आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर नगण्य रूपमा मात्र बढेको देखिन्छ ।

कृषि क्षेत्रको योगदान धेरै

औधोगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी छ ।

आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले कोशी तथा मधेश प्रदेशमा पनि दोस्रो हिस्सा ओगटेको देखिन्छ । यस्तै, बागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोबार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ ।

बागमती, मधेश र कर्णाली प्रदेशबाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ भने बागमतीमा पानी आपूर्ति तथा फोहर व्यवस्थापनसम्बन्धी क्रियाकलापमा योगदान देखिन्छ । मधेश तथा कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।

आर्थिक वर्ष २०८१/८२ मा सबै प्रदेशका सबै क्षेत्रको वृद्धिदर धनात्मक छ । चालु आर्थिक वर्षमा औद्योगिक वर्गीकरणअनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत् तथा ग्यास (१३.८२ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएकोमा लुम्बिनी र कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ ।

लुम्बिनी र कर्णाली प्रदेशमा भने यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिन्छ । त्यसैगरी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा खानी तथा उत्खनन्, कोशी र सुदूरपश्चिम प्रदेशमा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन, मधेश प्रदेशमा शिक्षा र गण्डकी प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहेको देखिन्छ ।

कर्णालीको प्रतिव्यक्ति आय १ हजार ८९ डलर

आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०८०/८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको थियो ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा बागमती प्रदेशको २ हजार ६ सय दुई, गण्डकी प्रदेशको १ हजार ६ सय १९, कोशी प्रदेशको १ हजार चार सय एक, लुम्बिनी प्रदेशको १ हजार दुई सय एक, सुदुरपश्चिम प्रदेशको १ हजार एक सय ५३, कर्णाली प्रदेशको १ हजार ८९ र मधेश प्रदेशको नौ सय ३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा १ हजार चार सय ९६ हुने प्रारम्भिक अनुमान छ । यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ । शिलापत्रबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५