कृष्णप्रसाद अधिकारी
दैलेखः स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लाभर १० देखि १४ वर्ष उमेर समूहका १६ हजार भन्दा बढी किशोरीहरुलाई पाठेघरको क्यान्सरबाट जोगाउन ‘सिकोलिन’ खोप लगाउने भएको छ । दैलेख सदरमुकाममा आइतबार सञ्चारकर्मीहरुसंग अभिमुखिकरण गरि एच.पि.भी खोप अभियान-२०८१को बारेमा जानकारी दिइएको छ ।
सञ्चारकर्मीहरुसंग अभिमिखिकरण कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले पाठेघरको क्यान्सरबाट जोगाउन कशोरीहरुलाई खोप लगाउने, बयस्क महिलाहरुको पाठेघर जाँच गर्ने र निःशुल्क उपचार अभियानको प्रचारप्रसारमा सघाउन सबैलाई आग्रह गरे ।उनले खोप अधियानलाइ हरेक समुदायमा पुर्याउन संचारकर्मीहरुको भूमिका रहेको बताउँदै सबै ठाउँमा पुग्ने गरि प्रचार प्रसार गर्नुपर्ने बताए । यो अभियानमा कोही किशोरीहरु नछुटुन भन्ने योजना छ, उनले भने ।
पहिलो चरणमा माघ २२ गतेदेखि २५ गतेसम्म भगवतमाई, भैरबी, डुङ्गेश्वर, गुराँस, महाबु, नौमूले गाउँपालिकासंगै नारायण नगरपालिकामा र दोश्रो चरणमा माघ २७ गतेदेखि ३० गतेसम्म दुल्लू, आठबीस, चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिमा खोप दिइने स्वास्थ्य सेवा कार्यालयका इञ्चार्ज डा. रत्नबीर सुनारले जानकारी दिए ।
दुई चरणमा दैलेखका एक सय ५७ आधारभूत तथा माध्यमिक विद्यालमा कक्षा ६ देखि १० कक्षा पढ्दै गरेका १५ हजार चार सय ४३ किशोरीहरुलाई विद्यालयमै र पढाई छोडेका आठ सय ५४ जना किशोरीहरुलाई विभिन्न ८३ वटा स्थानमा ‘सिकोलिन’ खोप दिने तयारी रहेको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए ।
१० देखि १४ वर्ष उमेर समूहरुका सबै किशोरीहरुलाई खोप लगाउने बाहेक ३० देखि ४९ वर्ष प्रजनन् उमेर समूहका सबै महिलाहरुलाई स्वास्थ्य संस्थामा पाठेघर जाँच गर्ने र आवश्यकता अनुसार निःशुल्क उपचार सेवा पुर्याउने अभियानको कार्यक्रम समेत रहेको खोप अधिकृत रेग्मीले प्रस्तुतिकरणमा बताएका छन् ।
पाठेघरको क्यान्सर लागेका मध्ये ६६ प्रतिशत महिलाको अकाल मृत्यू हुने गरेको तथ्यांक पत्ता लागेपछि नेपाल सरकारले किशोरीहरुलाई पाठेघर क्यान्सरबाट जोगाउन खोप लगाउने, ३० देखि ४९ वर्ष प्रजनन् उमेर समूहका सबै महिलाहरुको पाठेघर जाँच गर्ने र निःशुल्क उपचार व्यवस्था गरिएको हो ।

एच.पि.भी. भनेको के हो ?
यो एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस (Human Papillomavirus, (HPV) भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एच.पि.भी. हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् र तीमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यस मध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यि दुई प्रजातिहरूबाट भएको देखिन्छ ।
देखभर २०८१ माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एच.पि.भी खोप दिइँदैछ।
कस्तो अवस्थामा लगाउनु हुदैन एच.पि.भी खोप
- कक्षा ६ भन्दा मुनिका र १० कक्षा भन्दा माथिका छात्राहरु ।
- विद्यालय नजाने १० बर्ष मुनि र १४ बर्ष भन्दा माथिका किशोरीहरु ।
- गर्भवती महिलाहरु ।
- पहिला कुनै खोप लगाउँदा गम्भीर एलर्जी प्रतिक्रिया भएको ब्यक्ति ।
- एच.पी. भी. खोपमा भएका कुनै तत्वबाट विगतमा गम्भीर एलर्जी प्रतिक्रिया भएको ब्यक्ति ।
- विगतमा एच.पी. भी. खोप लगाएका कीशोरीहरुले पनि यो खोप लगाउनु पर्दैन ।




खुल्ला प्रेस । १४ माघ २०८१, सोमबार ०८:०८