कर्णालीमा ८ पदका लागि हुँदैछ उपनिर्वाचन

दैलेख : आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार कर्णालीमा ८ पदका लागि निर्वाचन हुँदै छ । गाउँपालिका अध्यक्ष एक, नगरपालिकाका उपप्रमुख एक, गाउँपालिका उपाध्यक्ष एक र वडाध्यक्ष पाँच गरी ८ पदमा निर्वाचन हुने आयोगले जनाएको छ ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा यहाँ नेपाली काँग्रेसका गुरुङ दुई हजार ९ सय ७९ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार पाँच सय १९ र नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीले दुई हजार दुई सय ६८ मत पाएका थिए । दैलेखकै दुल्लु नगरपालिका–१३ वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुँदै छ । वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । शाही नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख पदका लागि पनि निर्वाचन हुँदै छ । नेपाली काँग्रेसबाट उपप्रमुखमा निर्वाचित सरिता सिंहको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ । जाजरकोटकै कुसे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुँदै छ । वडाध्यक्ष मनबहादुर घर्तीको निधनपछि उक्त पद रिक्त थियो । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका घर्ती तीन सय ८० मतसहित निर्वाचित भएका थिए ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेदवार बनेका चन्द्र सिंह कार्कीको गाडी दुर्घटनामा परी निधन भएको थियो । कार्की तीन हजार दुई सय ६९ मतसहित निर्वाचित भएका थिए ।

यस्तै कालीकोटको तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष बद्रीबहादुर पन्तको निधन भएपछि उपनिर्वाचन हुँदै छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका पन्त पाँच सय चार मतसहित निर्वाचित भएका थिए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ का वडाध्यक्ष पद पनि रिक्त छ । वडाध्यक्ष नन्दलाल रोकाको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । रोका नेकपा एमालेको तर्फबाट एक सय ८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदै छ ।

२०७९ मा कांग्रेसबाट निर्वाचित भएका अलबहादुर खत्रीको जन्डिसका कारण निधन भएको थियो । खत्रीले चार सय ६२ मत प्राप्त गरी माओवादीका तीर्थबहादुर खत्रीलाई पराजित गरेका थिए ।

उम्मेदवार टुंग्याउँदै दलहरू

उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरूले मतदाता रिझाउन गाउँ पसेका छन् । दलहरू पार्टीका मतदाता भेटघाटमा सक्रिय बनेका छन् । योसँगै दलहरूले उम्मेदवारको टुंगो लगाउन थालेका छन् । दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाएको छ ।

कांग्रेसले नेता झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैठकले महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि पार्टीका तर्फबाट झलकबहादुर भण्डारीको नाम टुंग्याएको सभापति मणिराम रेग्मीले जानकारी दिए । दुल्लु नगरपालिका–१३ को वडाध्यक्षका लागि रेशमबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको सभापति रेग्मीले बताए ।

यस्तै नेकपा एकीकृत समाजवादीले जंगबहादुर शाहीको नाम टुंग्याएको छ । समाजवादीका तर्फबाट महाबु गाउँपालिका अध्यक्षका लागि जंगबहादुर शाहीको नाम टुंग्याइएको अध्यक्ष मयाराम अधिकारीले बताए ।

अन्य दलहरूले समेत उम्मेदवारको टुंगो लगाउने गरि छलफल चलाएका छन् । एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउन पालिका कमिटीबाट आएका नामहरूलाई प्रदेश कमिटीमा पठाएको बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५