दैलेखः राकम कर्णाली नयाँ सहर आयोजना निर्माणको काम सुस्त गतिमा अगाडि बढेको छ । आयोजना सुरु भएको करिब १२ वर्ष पूरा भए पनि अझै काम पुरा भएको छैन् ।
हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयनमा फितलो योजनाले मूर्तरूप पाउन नसकेको हो । पहाडबाट तराईमा हुने बसाइसराइ रोक्न आर्थिक वर्ष २०६७/६८ मा सरकारले ल्याएको योजना अन्तर्गत राकममा नयाँ सहर निर्माण थालिएको हो ।
एक लाख जनसङ्ख्या बसोबास गराउन आवश्यक सम्पूर्ण पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित सेवा केन्द्र, कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाहरूको विकास गर्न सरकाले योजना अघि सारेको थियो । २०६८ देखि कार्यालय स्थापना गरेर काम सुरु भएको छ । तर अहिलेसम्म लक्ष्यअनुसारको काम हुन सकेको छैन । जग्गा विवाद र बजेट अभावका कारण भनेजति काम हुन नसकेको जनाइएको छ ।
२०६८ देखि कार्यालय स्थापना गरेर काम सुरु भएको छ । तर अहिलेसम्म लक्ष्यअनुसारको काम हुन सकेको छैन ।
सरकारले नयाँ सहर परियोजना निर्माणका लागि बजेट पनि न्यून विनियोजन गर्ने गरेको छ । प्रत्येक आर्थिक वर्षमा सरकारले बजेट विनियोजन गर्छ । गत आर्थिक वर्ष २०७९/८० मा नयाँ सहरको परियोजना निर्माणका लागि १८ करोड पुँजीगत बजेट विनियोजन भएको थियो ।
सो बजेट आयोजना निर्माणका लागि पर्याप्त नभएको बताइएको छ । चालु आर्थिक वर्षमा सरकारले बजेट कटौती गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा १३ करोड पुँजीगत बजेट छुट्याएको छ ।
राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले न्यून बजेट विनियोजन गर्ने गरेको छ । बजेट न्यून हुँदा काम गर्न समस्या हुनेगरेको राकम कर्णाली नयाँ सहर आयोजनाका इन्जिनियर प्रवेशराज लामिछानेले बताए । उनका अनुसार एउटै योजना निर्माण गर्नका लागि १९ करोड आवश्यकता पर्नेगरेको छ ।बजेट अपुग हुँदा एक वर्षमा सम्पन्न भइसक्नुपर्ने योजना पनि अर्को वर्षसम्म लैजानुपर्ने बाध्यता रहेको छ ।
काम गर्नका लागि बजेट नै अपुग हुनेगरेको भन्दै उनले अहिलेसम्म स–साना योजना मात्र सम्पन्न भएको जानकारी दिए । बजेट अपुग हुँदा एक वर्षमा सम्पन्न भइसक्नुपर्ने योजना पनि अर्को वर्षसम्म लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
अहिलेसम्म सडक सोलार बत्ती, मसानघाटमा प्रतीक्षालय, पाँच वटा खानेपानी योजना, तीन सय पाँच मिटर सडक कालोपत्रे, सिगौडीको कुमालखाडादेखि निमायलसम्म कच्ची सडक, चार वटा कर्णाली राजमार्गछेउमा यात्रु प्रतीक्षालय मात्रै सकेर आयोजनाले आफ्नो प्रगति गरेको देखाएको छ ।
जग्गा एकीकरण आयोजनाअन्तर्गत बगरखेत र खेडावाडा नयाँ सहरका लागि छानिएका छन् । बगरखेतमा मुआब्जा विवादले काम रोकिएको छ भने खेडावाडामा डीपीआर सम्पन्न भई जग्गाधनीको लालपुर्जा र नक्सापासको कागजात सङ्कलन गर्ने कार्य भइरहेको आयोजनाका इन्जिनियर लामिछानेले जानकारी दिए ।
काम तीव्र गतिमा लैजान प्रयास गरिरहेको उनको भनाइ छ । आयोजनाको डीपीआर बनाउने काम भए पनि भौतिक निर्माणको काम निकै सुस्त देखिएको छ । दैलेखको आठबिस नगरपालिका वडा १, २, ४ लाई राकम कर्णालीमा नयाँ सहर निर्माणका लागि २० वर्षे योजना निर्माण गरिएको छ । कर्णाली नदी किनारमा आधुनिक सहर (स्मार्ट सिटी) निर्माण योजनाको अवधारणा ल्याइएको छ ।
आयोजना सम्पन्न गर्न १९ अर्ब ८२ करोड ९४ लाख लाग्ने लागत अनुमान छ । पछिल्लो ६ वर्षमा मात्र आयोजना निर्माणका लागि २६ करोड २८ लाख पुँजीगत खर्च भएको देखिन्छ ।
ग्रामीण बस्तीमा स्वास्थ्य र शिक्षालाई प्रभावकारी सेवा प्रदान गर्ने अभियानसँगै एकीकृत बस्ती विकास गर्न राकम कर्णालीमा नयाँ सहर बनाउने योजना बनेको थियो । मध्यपहाडी राजमार्गमा निर्माण गरिने दश नयाँ सहरमा परेको राकम कर्णालीमा काम भने सुस्त गतिमा भइरहेको छ ।
स्थानीय सरकारले चासो देखाए पनि काम अघि बढ्न नसकेको आठ बिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले बताए । ‘सङ्घीय सरकारले गर्नुपर्ने भएकाले काम अलमलमै छ’ बडुवालले भने, ‘निर्माण थालिएको १२ वर्षमा देखिनेगरी कुनै काम हुन सकेको छैन ।’ नयाँ सहर निर्माण गर्ने योजना सुरुआत भएको केही समय मुआब्जा विवादले काम हुन सकेको थिएन । ६ वर्ष योजना निर्माणको काम विवादमै गुज्रियो । पछिल्लो ६ वर्षमा भने स–साना मात्र काम भइरहेका छन् । गाेरखापत्र




खुल्ला प्रेस । २९ भाद्र २०८०, शुक्रबार ०९:१३